२६ जेठ २०८३, मंगलबार

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

विक्रम संवत् २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ ।

मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृंखलासँगै धुलिखेल, नगरकोट लगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ ।

प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौंरीखर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात पर्यटकीय गन्तव्यको विकाससँगै गुफाडाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको वातावरणमा रमाउन पाउँदा खुशी लागेको काभ्रेपलाञ्चोकका आशाकाजी श्रेष्ठले बताए ।

चौताराबाट आएकी बिन्दु सापकोटा दोस्रोपटक घुम्न आएको बताउँछिन् । लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको किंवदन्ती रहेको पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए ।

विभिन्न संघसंस्थाको बैठक, गोष्ठी लगायतका कार्यक्रम समेत गुफाडाँडा जलवायु उद्यानमा आयोजना हुन थालेपछि चहलपहल बढेको छ । गुफाडाँडाको प्रचारप्रसारसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको मेलम्ची नगरपालिका–९ का युवराज पुरी बताउँछन् ।

पर्यटक पर्खाइमा बसेको डाँडामा पुग्न भने बर्खायाममा सकस हुने गरेको छ । यहाँ होटल तथा होमस्टेको अभाव छ । पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, वनभोजस्थल, भ्यूटावर, रिसोर्ट, खेलमैदान, संस्कृति झल्किने संग्रहालय लगायत स्थापना गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्