दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको फाइनलमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फूटबल क्लब (डीएफसी) प्रवेश गरेका छन् ।
दिक्तेलस्थित माटिकोरे खेल मैदानमा बिहीवार भएको सेमिफाइनल खेलमा चियाबारी फूटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुंगालाई हराउँदै डीएफसी फाइनलमा पुगेका हुन् ।
नेर्पा इलामलाई २ विरुद्ध ६ गोल गर्दै फाइनल पुगेको हो भने डीएफसीले ओखलढुंगालाई पेनाल्टी सुटआउटमा हराएको हो । सेमिफाइनमा सीमित इलाम र ओखलढुंगाले नगद २५–२५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नेर्पाका तर्फबाट साइमन लिम्बूले २ गोल, सुदीप श्रेष्ठले १ गोल, बिकी राईले २ गोल र बिजु भुजेलले १ गोल गरेका थिए । इलामको तर्फबाट खेलको १४ र ३५औं मिनेटमा सञ्जय रम्तेलले २ गोल गरेका थिए ।
अर्को सेमिफाइनल खेलको निर्धारित समयमा डीएफसीका मनिष लिम्बूले खेलको १५औं मिनेट र ओखलढुंगाका मनकृष्ण राईले १८औं मिनेटमा १–१ गोल गरेपछि अतिरिक्त समय थपिएको थियो । थपिएको अतिरिक्त समयमा दुवैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा ५ विरुद्ध ६ गोल गर्दै डीएफसीले फाइनलको यात्रा तय गरेको आयोजकले जनाएको छ । गोल्डकपको तेस्रो संस्करणमा खोटाङसहित विभिन्न जिल्लाका १० टीम सहभागी भएका छन् ।
नेर्पा र डीएफसीबीचको फाइनल खेल शनिवार बिहान ११ बजेबाट शुरू हुने संयोजक युधिर शाक्यले जानकारी दिए । नेर्पा अनुप स्मृति गोल्डकपको दोस्रो संस्करणको विजेता टोली हो ।
माउन्ट एभरेस्ट इङ्गलिस बोर्डिङ स्कूल र दिक्तेल फूटबल क्लबको आयोजना तथा खोटाङ फूटबल एकेडेमी (केएफए) को सहआयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद २ लाख ५१ हजारका साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिए ।
प्रतियोगिताका उपविजेताले नगद १ लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट टीम प्रशिक्षकले नगद ५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित टीमले नगद ५ हजार ५५५ रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्लेयर अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले जनही नगद ७ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
माउन्ट एभरेस्ट इङ्गलिस बोर्डिङ स्कूलको नर्सरीमा अध्ययनरत अनुप राईको विक्रम संवत् २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थीको सम्झनामा स्कूलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको हो ।
प्रथम संस्करणमा १ लाख ११ हजार १११ र दोस्रो संस्करणमा १ लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो ।