
महोत्तरी जिल्ला अदालतले डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ निवासी डा. चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । डा. चौधरीको श्रीमती नेहा चौधरीले दाइजोसम्बन्धी कसुरमा उनी विरुद्ध मुद्दा दिएकी थिइन ।
मुद्दामा भएको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। औरही–१ की २१ वर्षीया नेहा र पंकजको गत फागुन २५ गते विवाह भएको थियो। विवाह भएको केही महिनापछि नेहाले सामाजिक सञ्जालमार्फत श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि दाइजोको नाममा हिंसा गरिरहेको भन्दै गुनासो गरेकी थिइन् ।
दाइजोमा डा. चौधरकिो परिवारले काठमाडौंमा घर माग गर्दै आफूमाथि हिंसा गरिरहेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्। विवाह अघि नै डा. चौधरीले २५ लाख दाइजो लिएको नेहाले दिएको जाहेरीमा उल्लेख छ । नेहाको परिवारले विवाहमा नगदसहित उपहार प्रदान गरे पनि थप आर्थिक सहयोग माग गर्दै उनले आफूलाई हिंसा गर्दैआएको उनको भनाइ छ ।
नेहाले घरेलु हिंसासहित दाइजो, मानाचामल र अंश मुद्दा समेत दिएकी छिन्। डा. चौधरीले श्रीमती विरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्। डा. चौधरी र स्नेहाले २०७८ फागुन २५ गते प्रेम विवाह गरेका थिए । नेहाको माइती पक्षले ५१ लाख रुपैयाँसहित २० तोला सुन दाइजो दिएको दावी गरेको छ ।