१५ असार २०८३, सोमबार

आजदेखि चरा गणना शुरु, चराको संख्या घट्नु चिन्ताको विषय

आजदेखि चरा गणना शुरु, चराको संख्या घट्नु चिन्ताको विषय

नेपालमा आजदेखि चरा गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न शुरु गरेको हो । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए । उनका अनुसार तीन हप्तासम्म चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदैजाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए ।  

चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दैगएको उनको भनाइ छ । हरेक क्षेत्रमाजस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा. बरालले बताए ।

चितवनमा भने भोलिदेखि चरा गणना शुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ । 

यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्