०७ साउन २०८३, बिहीबार

सार्कलाई सक्रिय बनाउन पहल गरिरहेका छौं– परराष्ट्र सचिव पौडेल

सार्कलाई सक्रिय बनाउन पहल गरिरहेका छौं– परराष्ट्र सचिव पौडेल

परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउनका लागि प्रयत्न जारी रहेको जनाएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आइतवार उपस्थित परराष्ट्रसचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन् ।

सबै सदस्य राष्ट्रबीच सहमति जुट्न नसकेका कारण हालसम्म सार्कलाई सक्रिय बनाउन नसकिएको उनले बताए ।

‘सार्कमा हामी चेयर छौं । तर, प्रक्रियाहरू अगाडि बढेनन् भन्ने कुराहरू छन् । सबै एग्री नभएसम्म कुनै पनि चिज अघि बढ्दैन । बेसिकल्ली त्यही हुन नसकेर हो । सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही पनि हुँदैन । हामी त ८ वटामध्ये एउटा मात्रै हौं । त्यसकारणले गर्दा खेरी यसमा प्रयत्न भइराखेको छ । रिजल्ट आएको नदेखिएको हुनाले हामीलाई प्रगति नभएको जस्तो लागेको हो ।'

सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य छन् । विशेष गरी भारत र पाकिस्तानबीचको तिक्तताका कारण सार्क निष्क्रिय छ ।

ती सबै सदस्य राष्ट्रको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाइ छ ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावल थापा 'पार्वती'ले सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनी जिज्ञासा राखेकी थिइन् । 

सोही विषयमा जवाफ दिँदै परराष्ट्र सचिव पौडेलले सार्कका विषयमा भइरहेको पहलबारे जानकारी गराएका हुन् ।

कमेन्ट गर्नुहोस्