काठमाडौं, १ भदौ - प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायिक क्षेत्रमा विपन्न, निमुखा तथा महिलाहरुको सहजरुपमा पहुँच पुग्न नसकेको जनाउँदै न्यायिक क्षेत्रको सुधार, स्वतन्त्रता र निष्पक्षता आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

कानुनी सहयोग तथा परामर्श केन्द्रको ३१ औं बार्षिक उत्सव कार्यकममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले ग्रामीण तहका विपन्न र निमुखा परिवारसम्म न्याय पु–याउनु अहिलेको आवश्यकता रहेको बताए ।
नेपालमा घरेलु हिंसाका मुद्दालाई पारिवारिक अदालत मार्फत छिटो न्याय सम्पादन गर्न सकिने उनले बताए । ‘न्यायिक कार्य सम्पादन गर्दा निष्पक्षतामा ध्यान दिनुपर्छ’ उनले भने । हालै वरिष्ठ अधिवक्ताको पद प्राप्त गरेका अधिवक्ताहरुलाई शुभकामना दिँदै निष्पक्ष न्यायप्रति प्रतिबद्ध रहन आग्रह गरे ।
कार्यक्रममा यस वर्षको शान्ता थपलिया महिला सशक्तिकरण पुरस्कार चाँदनी जोशीलाई प्रदान गरिएको छ । यस्तै महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी उपरीक्षक दुर्गा सिंह, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी उपसचिव सुनीता नेपाल र कानूनी सहयोग तथा परार्मश केन्द्र केन्द्रीय कार्यालयकी कानून अधिकृत अधिवक्ता अन्जना न्यौपानेलाई कदरपत्र प्रदान गरिएको थियो ।
कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) ले ३१ वर्ष देखि महिलाको सशक्तिकण तथा महिला कानुनी हकहितका लागि कार्य गर्दै आएको छ ।