२२ असार २०८३, सोमबार
कृषकका कुरा

उखु खेतीप्रति किसानमा आशा तर समर्थन मूल्य तोक्न सरकारको कन्जुस्याइँ

पुस २५, २०७९
उखु खेतीप्रति किसानमा आशा तर समर्थन मूल्य तोक्न सरकारको कन्जुस्याइँ

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै व्यावसायिक उखु खेती हुने जिल्लामा पर्छ पश्चिम नवलपरासी । जिल्लाको दक्षिणी क्षेत्रका उखु खेती गर्ने किसानहरूले हरेक वर्ष नगदेवालीको रूपमा रहेको उखु खेतीलाई आम्दानीको स्रोत बनाउँदै आएका छन् तर भुक्तानी पाउनका लागि भने किसानहरू सडकमै उत्रेर आन्दोलन गर्नुपर्ने बाध्यता छ ।

गत वर्ष पनि किसानहरूले भुक्तानीका लागि जिल्लामा मात्र आन्दोलन गरेनन्, काठमाडौं नै पुगेर आन्दोलन गरे । फलस्वरूप लामो समयदेखि भुक्तानी नपाएका किसानले भुक्तानी पाउन थाले । 

भुक्तानी दिलाउन जिल्ला प्रशासन कार्यालयले ठगीकै मुद्दा चलाउनुपर्‍यो । उद्योगीलाई थुनेरै भए पनि किसानले वर्षाैंदेखि पाउन नसकेको रकम प्रशासनले दिलायो ।

यो वर्ष पनि अहिलेसम्म सरकारले उखुको समर्थन मूल्य तोक्न सकेको छैन । जिल्लामा ३ ठूला चिनी उद्योग छन् । बाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योगले किसानको उखु खरिद गरेर उद्योग सञ्चालन गर्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाग्मती चिनी उद्योगले सबै रकम भुक्तानी गरेको छ । सुनवलले ४ लाख २० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा इन्दिरा चिनी उद्योगले १ करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो तथ्यांक गत वर्ष २०७८ पुस २० गतेसम्मको हो ।

उद्योगले त्यसपछि पनि भुक्तानी गरेकाले यथार्थ रकम संकलन हुन नसकेको प्रशासनले जनाएको छ । इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले ३०–३५ लाख रुपैयाँ मात्र किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताएका छन् । उधारो रकम अहिले पनि पुर्जी हेरेर वितरण गरिरहेको अग्रवालको भनाइ छ ।

‘केही किसानको पुर्जी हराएको छ । विवरण हेरेर भुक्तानी गरिरहेका छौं,’ अग्रवालले भने । भुक्तानीकै कारण ४ वर्षदेखि इन्दिरा चिनी उद्योग बन्द थियो, उद्योग यस वर्षदेखि सञ्चालनमा आएको छ ।

भुक्तानी पाएपछि यस वर्ष किसानले उखु खेतीलाई बढाएका छन् । भुक्तानी पाएका कारण र केही उद्योगले बिउलगायत प्राविधिक सहयोग उपलब्ध गराएका कारण किसानमा आशा जागेको छ । यसअघि भुक्तानीकै कारण उखु लगाउन छाड्दा उत्पादनमा कमी आएको थियो ।

यस वर्षदेखि भने उत्पादनमा केही वृद्धि भएको उखु उत्पादक कृषक समितिले जनाएको छ । यो वर्ष मंसिरको पहिलो हप्तादेखि सबै चिनी उद्योगहरू सञ्चालनमा आएका छन् भने किसानले उद्योगलाई उखु उपलब्ध गराउन थाले पनि सरकारले भने उखुको समर्थन मूल्य तोकेको छैन ।

गत वर्ष सरकारले तोकेको समर्थन मूल्यमै उद्योगले किसानसँग उखु खरिद गरिरहेका छन् । गत वर्ष सरकारले अनुदानबाहेक प्रतिक्वीन्टल ५२० रुपैयाँ समर्थन मूल्य तोकेको थियो । सरकारले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको छ । जिल्लामा गत वर्ष १०–१२ लाख क्वीन्टल उखु उत्पादन भएको थियो ।

यस वर्ष १२–१५ लाख क्वीन्टल उखु उत्पादन भएको उखु उत्पादक कृषक समितिले जनाएको छ । यो उत्पादनले जिल्लाका उद्योगलाई थेग्न सक्दैन । उद्योग क्षमताअनुसार चल्नका लागि बढी उखु आवश्यक पर्छ । जिल्लाका ३ चिनी उद्योगले यस वर्ष कूल २४ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका छन् । मागको तुलनामा आपूर्ति आधा मात्र छ । त्यसमा पनि करीब ५–६ लाख क्वीन्टल उखु किसानहरूले क्रसर उद्योगमा बिक्री गर्ने अनुमान छ । तथ्यांकअनुसार उद्योगले राखेको लक्ष्यलाई मात्र पूरा गर्न करीब १२ लाख क्वीन्टल उखु अझै अपुग देखिन्छ । 

दैनिक १६ हजार क्रसिङ क्षमता रहेको बाग्मतीले अहिले १२ हजार क्वीन्टल प्रतिदिन क्रसिङ गर्दै आएको छ । उद्योगले यस वर्ष न्यूनतम १० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । पर्याप्त उखु नभएकाले लक्ष्यअनुसार उखु क्रसिङ गर्न नसकिने बाग्मती चिनी उद्योगका प्रबन्धक टंक काफ्लेले बताए ।

दैनिक ७ हजार क्रसिङ क्षमता रहेको इन्दिरा उद्योगले अहिले ६ हजार क्वीन्टल क्रसिङ गर्दै आएको छ । यस वर्ष ८ लाख क्रसिङ गर्ने लक्ष्य राखे पनि उखु अभावले गर्न नसकिने सञ्चालक अग्रवालको भनाइ छ । 

लुम्बिनी चिनी उद्योगले यस वर्ष ६ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । दैनिक १० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको उद्योगले अहिले करीब ९ लाख क्वीन्टल क्रसिङ गर्न सक्ने जनाएको छ । पर्याप्त उखु नपाउँदा अन्य जिल्लाबाट उखु खरिद गरेर भए पनि लक्ष्यलाई पूरा गर्ने प्रयास भइरहेको उद्योगका प्रशासन प्रमुख कुशप्रसाद सुवेदीले बताए । ३ वर्षदेखि बन्द रहेको लुम्बिनी चिनी उद्योग गत वर्षबाट सञ्चालनमा आएको हो ।

जिल्लामा १२ हजार बढी उखु किसान छन् । २०५८ सालमा नवलपरासीमा २५ लाख क्वीन्टल उखु उत्पादन भएको थियो । २०७५ सालसम्म आइपुग्दा  १५ लाख क्वीन्टलमा सीमित हुन पुगेको जिल्लाको उखु उत्पादनको अवस्था २०७९ सालसम्म आइपुग्दा १२–१५ लाख क्वीन्टलमा झरेको छ । मूल्यतर्फ हेर्ने हो भने २०५८ सालमा १४१ रुपैयाँ रहेकोमा अहिले ५९० रुपैयाँ प्रतिक्वीन्टल पुगेको छ । 

(हेर्नुहोस् वार्षिक मूल्य तालिका)


    ​स्रोतः चिनी उद्योग र उखु उत्पादक कृषक समिति नवलपरासी

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । सुस्ता, सरावल प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका अधिकांश किसानको प्रमुख बाली उखु हो । नगरपालिकामध्ये रामग्रामका केही क्षेत्रमा उखु लगाउने गरिएको छ । सुनवल र बर्दघाट नगरपालिकाका सीमित क्षेत्रमा मात्र किसानहरूले उखु लगाउँदै आएका छन् । जिल्लाका १२ हजार किसान प्रत्यक्ष रूपमा उखु बालीमा संलग्न छन् ।

दक्षिण क्षेत्रका अधिकांश खेतीयोग्य जमिनमा उखुबाहेक अन्य बाली त्यति राम्रो नहुने भएकाले बाध्यतावश किसानले उखु खेतीलाई छाड्न सकेका छैनन् । 

निर्वाचनको बेला जिल्लाका राजनीतिक दल र उम्मेदवारले उखुसहित अन्य राष्ट्रिय समस्यालाई प्रमुख मुद्दा बनाउने गरेका छन् । अहिले सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा पनि ती मुद्दालाई अघि सार्न राजनीतिक दल र उम्मेदवारहरू पछि परेनन् । निर्वाचनको बेला आश्वासन दिएर जाने जनप्रतिनिधिहरू चुनाव जितेपछि मौन रहने गरेकाले आफ्ना समस्या ज्यूँका त्यूँ रहेका किसानको गुनासो छ ।

salt training

कमेन्ट गर्नुहोस्