
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा अस्थिरताको कारक नबन्ने बताएका बताएका छन् ।
संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै लिङ्देनले यसपटकको संसदको विम्ब दलहरूलाई मिलेर जाने रहेको भन्दै विचारभन्दा माथि उठेर काम गर्दा आफ्नो दल मुलुकमा अस्थिरताको लागि कारक नबन्ने बताएका हुन् ।
‘यो संसदमा यस्तो विम्ब देखिएको छ कि जनताले कुनै एक दललाई विश्वास गर्न सकेनन्,’ लिङ्देनले भने, ‘कुनै दल र विचारलाई निषेध गर्न सक्दैनौं, सबै मिलेर मात्रै अगाडि जाऊ र जनताको काम गर भन्ने मत छ ।’
उनले थपे, ‘देशको सबै क्षेत्र ओरालो लागेको छ । अर्थतन्त्रको अवस्था भनिरहन पर्दैन । बेरोजगारी र ठप्प विकास निर्माणले यस्तै भन्छ । राप्रपा संसदमा यही जनादेशबमोजिम राष्ट्रियता, एकता, सुशासन, विकास र सेवा प्रवाहका मुद्दामा विगतमा झैँ दृढताका साथ उभिनेछ । राप्रपा मुलुकमा अस्थिरताको कारक बन्ने छैन ।’
आफूहरू कसैलाई निषेध गरेर जाने पक्षमा नभएको भन्दै उनले मिलेर अगाडि बढ्ने बताए ।
‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । हाम्रो विचारभन्दा माथि छ देश, देशभन्दा माथि केही छैन,’ उनले भने, ‘चुनावको जनादेश पनि यही छ । देशलाई शीरमा राखेर देशका समस्या सामूहिक रूपमा समाधान गर्न अग्रसर हुन सकौं ।’
उमेर पुगेको भोलिपल्ट युवाले राहदानी बनाएर आमा र बाउको काख छाडेर पेट पाल्न विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, कृषकले मल पाउने व्यवस्था गर्नुपर्ने र रोकिएका विकासका कामलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।
अघिल्लो कार्यकालमा यो संसद् भवन छाड्ने बेला अलि धेरै साथीहरू लिएर आउँछु भनेको स्मरण गर्दै उनले जनताको भावनालाई प्रतिनिधित्व गर्न सक्ने गरी आफ्नो दल संसदमा आएको प्रस्ट्याए ।