१० साउन २०८३, आइतबार

विश्व अर्थतन्त्र मन्दीको संघारमा, भारतको आर्थिक विकासमा विज्ञहरू आशावादी

पुस २९, २०७९
विश्व अर्थतन्त्र मन्दीको संघारमा, भारतको आर्थिक विकासमा विज्ञहरू आशावादी

आर्थिक मन्दीको आशंकामा संसार चिन्तित बन्न थालेको छ । तर भारतीय अर्थतन्त्रका लागि राम्रा खबरहरू आइरहेका छन् । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक जस्ता संस्थाहरूका साथै अर्थविज्ञहरू पनि अब भारतको समय आएको बताउँदैछन् । 

कोरोनाका कारण अनेकौं देशको स्थिति कमजोर बनेको छ । तर भारतीय अर्थतन्त्र घना अन्धकार रातमा चम्किएको तारा जस्तो रहेको आईएमएफको भनाइ छ । 

विज्ञहरूका अनुसार, आगामी सात वर्षमा भारतको अर्थतन्त्र ७० खर्ब डलर पुग्न सक्छ । अनि सन् २०४७ सम्म भारतको अर्थतन्त्र ४०० खर्ब डलर पुग्ने सम्भावना छ । 

मोदी सरकार स्वयंले सन् २०२५ सम्म भारतको अर्थतन्त्र ५० खर्ब डलर पुर्‍याउने लक्ष्य लिएको छ । प्रमुख आर्थिक सल्लाहकार भी अनन्त नागेश्वरनले आगामी सात वर्षमा भारतको अर्थतन्त्र ७० खर्ब डलर पुग्ने बताए । यो लक्ष्य प्राप्त गर्न गाह्रो नरहेको उनी बताउँछन् । 

अमेरिकी फेडरल बैंकले सन् २०२४ र २०२५ मा ब्याजदरमा कटौती गर्न सक्छ र त्यसको फाइदा भारतीय रुपैयाँलाई हुनेछ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, २०२२–२३ मा भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने अनुमान छ । 

आईएमएफले यो वर्ष भारतको आर्थिक वृद्धि ६.८ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२२ मा भारतीय अर्थतन्त्रले निकै राम्रो प्रदर्शन गरेको उसको भनाइ छ । सन् २०२३ मा यो वृद्धि थप बलियो हुनेछ । 

भारतले विगत १० वर्षमा शानदार आर्थिक विकास दर हासिल गरेको छ । एक दशकअघि भारत संसारको ११औं ठूलो अर्थतन्त्र थियो भने अब यो पाँचौं स्थानमा आइपुगेको छ । 

एसबीआईका प्रमुख आर्थिक सल्लाहकार सौम्य कान्ति घोषले हालै प्रकाशित एक लेखमा उल्लेख गरेअनुसार, कोरोनापछि अर्थतन्त्र द्रुत गतिमा बढिरहेको छ र त्यसको लाभ देशको हरेक वर्गले पाइरहेको छ । देशको वास्तविक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन महामारीपछिको समयमा ६.७ प्रतिशत दरले बढ्ने अनुमान छ । महामारीपहिलेको समयमा त्यसको औसत ५.४ प्रतिशत थियो । महामारीअघि र पछिको समयमा औसत कुल गार्हस्थ्य उत्पादनबीचको अन्तरका सवालमा संसारका १९ ठूला देशमध्ये भारत छैटौं स्थानमा छ ।

निक्केई एसियाका प्रधान सम्पादक शिगेसाबुरो ओकुमुराले हालै एक लेखमा उल्लेख गरे ः सन् २०२३ लाई भारत संसारको तेस्रो ध्रुवका रूपमा उदाएको वर्षका रूपमा याद गरिनेछ । भारतको उदयले उसलाई अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ शक्ति दिने उनको भनाइ छ । 

अमेरिका र चीनबीचको खटपट तथा चीनप्रतिको निर्भरता कम गर्ने संसारको कोशिशबाट भारतलाई लाभ हुनेछ । संसारभरिका कम्पनी चीनप्रतिको निर्भरता घटाइरहेका छन् । त्यसको सीधा फाइदा भारतले पाउनेछ । संसारको सबभन्दा मूल्यवान कम्पनीमध्ये एक एप्पलले भारतमा आईफोन–१४ बनाइरहेको छ । 

पीआरआईसीईका व्यवस्थापकीय निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राजेश शुक्लाले हालै एक आलेखमा उल्लेख गरे ः राजनीतिक तथा आर्थिक सुधारको अनुकूल असर रहेमा सन् २०४७ सम्म संसारको सबभन्दा द्रुत गतिमा विकसित भएको अर्थतन्त्र बन्ने क्षमता भारतसँग छ । त्यसक्रममा देशको वार्षिक वृद्धिदर ६ देखि ७.५ प्रतिशत रहनेछ । 

त्यस्तो अवस्थामा हरेक परिवारसँग औसत खर्च गर्न योग्य रकम २० लाख भारु हुनेछ । सन् २०३०–३१ सम्म अत्यन्तै विपन्न परिवारको संख्या १५ प्रतिशतबाट घटेर ६ प्रतिशतमा झर्नेछ । अनि देशको मध्यमवर्गको संख्या ३० प्रतिशतबाट बढेर ४६ प्रतिशत हुनेछ । 

एसियाका सबभन्दा धनी व्यापारी गौतम अडानीले हालै एक टीभीलाई दिएको अन्तर्वार्तामा सन् २०५० सम्म भारत ३०० खर्ब डलर भएको अर्थतन्त्र बन्न सक्ने बताए । भारतलाई १० खर्ब डलरको अर्थतन्त्र बन्नका लागि ५८ वर्ष लागेको अनि २० खर्ब डलरसम्म पुग्न १२ वर्ष लागेको र त्यसको पाँच वर्षपछि भारत ३० खर्ब डलरको अर्थतन्त्र बनेको उनले बताए । 

आगामी १२ देखि १८ महिनामा भारतको अर्थतन्त्रमा १० खर्ब डलरको वृद्धि हुनेछ । त्यसले गर्दा प्रतिव्यक्ति आय बढ्नेछ र विकासबाट रोजगारको अवसर उत्पन्न हुनेछ । सन् २०५० सम्म भारत संसारको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण उनले गरे । 

त्यस्तै भारतका अर्का अर्बपति व्यापारी मुकेश अम्बानीले पनि सन् २०४७ सम्म भारत ४०० खर्ब डलरको अर्थतन्त्र बन्ने बताएका छन् । आगामी २५ वर्ष भारतका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । त्यस समयमा भारतले द्रुत गतिमा विकास गर्ने उनले बताए । 

त्यसबाट भारतीयहरूको जीवनस्तरमा व्यापक सुधार हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्