
आर्थिक मन्दीको आशंकामा संसार चिन्तित बन्न थालेको छ । तर भारतीय अर्थतन्त्रका लागि राम्रा खबरहरू आइरहेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक जस्ता संस्थाहरूका साथै अर्थविज्ञहरू पनि अब भारतको समय आएको बताउँदैछन् ।
कोरोनाका कारण अनेकौं देशको स्थिति कमजोर बनेको छ । तर भारतीय अर्थतन्त्र घना अन्धकार रातमा चम्किएको तारा जस्तो रहेको आईएमएफको भनाइ छ ।
विज्ञहरूका अनुसार, आगामी सात वर्षमा भारतको अर्थतन्त्र ७० खर्ब डलर पुग्न सक्छ । अनि सन् २०४७ सम्म भारतको अर्थतन्त्र ४०० खर्ब डलर पुग्ने सम्भावना छ ।
मोदी सरकार स्वयंले सन् २०२५ सम्म भारतको अर्थतन्त्र ५० खर्ब डलर पुर्याउने लक्ष्य लिएको छ । प्रमुख आर्थिक सल्लाहकार भी अनन्त नागेश्वरनले आगामी सात वर्षमा भारतको अर्थतन्त्र ७० खर्ब डलर पुग्ने बताए । यो लक्ष्य प्राप्त गर्न गाह्रो नरहेको उनी बताउँछन् ।
अमेरिकी फेडरल बैंकले सन् २०२४ र २०२५ मा ब्याजदरमा कटौती गर्न सक्छ र त्यसको फाइदा भारतीय रुपैयाँलाई हुनेछ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, २०२२–२३ मा भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने अनुमान छ ।
आईएमएफले यो वर्ष भारतको आर्थिक वृद्धि ६.८ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२२ मा भारतीय अर्थतन्त्रले निकै राम्रो प्रदर्शन गरेको उसको भनाइ छ । सन् २०२३ मा यो वृद्धि थप बलियो हुनेछ ।
भारतले विगत १० वर्षमा शानदार आर्थिक विकास दर हासिल गरेको छ । एक दशकअघि भारत संसारको ११औं ठूलो अर्थतन्त्र थियो भने अब यो पाँचौं स्थानमा आइपुगेको छ ।
एसबीआईका प्रमुख आर्थिक सल्लाहकार सौम्य कान्ति घोषले हालै प्रकाशित एक लेखमा उल्लेख गरेअनुसार, कोरोनापछि अर्थतन्त्र द्रुत गतिमा बढिरहेको छ र त्यसको लाभ देशको हरेक वर्गले पाइरहेको छ । देशको वास्तविक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन महामारीपछिको समयमा ६.७ प्रतिशत दरले बढ्ने अनुमान छ । महामारीपहिलेको समयमा त्यसको औसत ५.४ प्रतिशत थियो । महामारीअघि र पछिको समयमा औसत कुल गार्हस्थ्य उत्पादनबीचको अन्तरका सवालमा संसारका १९ ठूला देशमध्ये भारत छैटौं स्थानमा छ ।
निक्केई एसियाका प्रधान सम्पादक शिगेसाबुरो ओकुमुराले हालै एक लेखमा उल्लेख गरे ः सन् २०२३ लाई भारत संसारको तेस्रो ध्रुवका रूपमा उदाएको वर्षका रूपमा याद गरिनेछ । भारतको उदयले उसलाई अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ शक्ति दिने उनको भनाइ छ ।
अमेरिका र चीनबीचको खटपट तथा चीनप्रतिको निर्भरता कम गर्ने संसारको कोशिशबाट भारतलाई लाभ हुनेछ । संसारभरिका कम्पनी चीनप्रतिको निर्भरता घटाइरहेका छन् । त्यसको सीधा फाइदा भारतले पाउनेछ । संसारको सबभन्दा मूल्यवान कम्पनीमध्ये एक एप्पलले भारतमा आईफोन–१४ बनाइरहेको छ ।
पीआरआईसीईका व्यवस्थापकीय निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राजेश शुक्लाले हालै एक आलेखमा उल्लेख गरे ः राजनीतिक तथा आर्थिक सुधारको अनुकूल असर रहेमा सन् २०४७ सम्म संसारको सबभन्दा द्रुत गतिमा विकसित भएको अर्थतन्त्र बन्ने क्षमता भारतसँग छ । त्यसक्रममा देशको वार्षिक वृद्धिदर ६ देखि ७.५ प्रतिशत रहनेछ ।
त्यस्तो अवस्थामा हरेक परिवारसँग औसत खर्च गर्न योग्य रकम २० लाख भारु हुनेछ । सन् २०३०–३१ सम्म अत्यन्तै विपन्न परिवारको संख्या १५ प्रतिशतबाट घटेर ६ प्रतिशतमा झर्नेछ । अनि देशको मध्यमवर्गको संख्या ३० प्रतिशतबाट बढेर ४६ प्रतिशत हुनेछ ।
एसियाका सबभन्दा धनी व्यापारी गौतम अडानीले हालै एक टीभीलाई दिएको अन्तर्वार्तामा सन् २०५० सम्म भारत ३०० खर्ब डलर भएको अर्थतन्त्र बन्न सक्ने बताए । भारतलाई १० खर्ब डलरको अर्थतन्त्र बन्नका लागि ५८ वर्ष लागेको अनि २० खर्ब डलरसम्म पुग्न १२ वर्ष लागेको र त्यसको पाँच वर्षपछि भारत ३० खर्ब डलरको अर्थतन्त्र बनेको उनले बताए ।
आगामी १२ देखि १८ महिनामा भारतको अर्थतन्त्रमा १० खर्ब डलरको वृद्धि हुनेछ । त्यसले गर्दा प्रतिव्यक्ति आय बढ्नेछ र विकासबाट रोजगारको अवसर उत्पन्न हुनेछ । सन् २०५० सम्म भारत संसारको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण उनले गरे ।
त्यस्तै भारतका अर्का अर्बपति व्यापारी मुकेश अम्बानीले पनि सन् २०४७ सम्म भारत ४०० खर्ब डलरको अर्थतन्त्र बन्ने बताएका छन् । आगामी २५ वर्ष भारतका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । त्यस समयमा भारतले द्रुत गतिमा विकास गर्ने उनले बताए ।
त्यसबाट भारतीयहरूको जीवनस्तरमा व्यापक सुधार हुनेछ ।