
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाको सडकपेटी, फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न गराउन निषेध गरिएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नागरिकले स्वतन्त्र पूर्वक बाच्न पाउने हक, रोजगारीको हक र जीवीकोपार्जनका लागि स्वतन्त्र पूर्वक व्यापार व्यवसाय गर्ने संवैधानिक हकको ठाडो उल्लंघन भएको संघका महासचिव राजकुमार श्रेष्ठले बताएका छन् । शुक्रबार संघको तर्फबाट विज्ञप्ति जारी गर्दै श्रेष्ठले सबै नागरिकहरुलाई सेवा तथा सुरक्षा दिनु तथा रोजगारीको उचित व्यवस्था गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाले गरिब जनताको लागि सेवा तथा जीउधनको सुरक्षा गर्नुको सट्टा गुण्डागर्दी शैलीमा शहरको चोक, गल्ली तथा सडकछेउ किनारमा बिहान बेलुकीको समयमा आफू र आफ्नो बालबच्चाको पालनपोषण र शिक्षा दिक्षाको लागि स्वरोजगार व्यापार व्यवसाय गर्दैआएका स्वरोजगार श्रमिकलाई विनाविकल्प धरपकड गर्ने, सामान जफत गर्ने, जफत गरिएको सामानहरूको लेखाजोखा तथा क्षतिपूर्ति नदिनेजस्ता अमानवीय व्यवहार प्रदर्शन गरिरहेको संघको आरोप छ ।
सडक पेटीमा व्यापार गरी परिवार पाल्ने यस्ता व्यापारीको तथ्याङ्क संकलन गरी स्थानीय तहमा पञ्जीकरण गर्नु र उचित स्थानमा प्रत्येक वडामा व्यवसाय गर्ने प्रबन्ध मिलाउन संघले आग्रह गरेको छ । “निश्चित स्थान र समय निर्धारण गरी निम्नस्तरका स्वरोजगार श्रमिकहरुलाई व्यवस्थापन गर्न यस क्षेत्रमा क्रियाशील सरोकारवाला संघ संस्थाहरुसंग वार्ता एवं संवादमार्फत समस्याको समाधान गर्न काठमाडौं महानगरपालिकासँग माग गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।
नियन्त्रण र निषेधले समस्या समाधान नहुने संघको भनाइ छ । वकल्पको उचित व्यवस्थापन नगरी सडक व्यापार गर्ने स्वरोजगार श्रमिक र तिनीहरुको परिवारको जिविकोपार्जन गर्ने अधिकारलाई समाप्त गर्ने अधिकार महानगरपालिकालाई नभएको महासचिव श्रेष्ठले भनेका छन् । निषेधको नीतिले समाजमा द्वन्द्व सिर्जना हुने भन्दै समस्या समाधान गर्न विकल्पसहित वार्ता र सहकार्य गर्न संघले महानगरसँग माग गरेको छ ।