
सत्तारुढ गठबन्धनबीचको सहमतिअनुसार सभामुख एमालेको भागमा पर्दा सम्भावित उम्मेदवार को हुन्छ भन्नेमा यतिखेर सर्वत्र चासो छ ।
संसद् सदस्य नै उम्मेदवार हुनुपर्ने यो पदका लागि एमालेले कसलाई अघि सार्छ भन्ने विषय पनि उत्तिकै चासोपूर्वक हेरिएको छ ।
सभामुखको चुनाव ५ माघमा हुँदैछ । आलोपालोमा पहिले एमालेले सभामुख लिँदैछ ।
सोमरबारम्म सभामुखको उम्मेदवार तय गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् ।
‘भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार भयो भने हामी सभामुखबारे पर्सीसम्म टुंगोमा पुग्छौं’, ज्ञवालीले लोकान्तरसँग भने, ‘संसदीय प्रणाली बुझेको, जुनसुकै दलसँग समन्वय गर्न सक्ने पात्र अघि सार्ने तयारीमा छ ।’
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख र राष्ट्रपतिको चुनावलाई फरक नपार्ने ज्ञवाली बताउँछन् ।
‘कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि उनीहरूले प्रतिपक्षमा बस्ने भनेका छन् ।
अहिलेको गठबन्धन विश्वासको एउटा एउटा जगमा बनेको छ । यसैले सभामुखको चुनाव मात्रै होइन राष्ट्रपतिको चुनावसम्म पनि यो गठबन्धन प्रभावित हुँदैन,’ ज्ञवालीले भने ।
यसअघि सभामुख भइसकेका सुवासचन्द्र नेम्वाङले यसपटक राष्ट्रपतिमा रुचि देखाएका छन् ।
एमालेबाट सभामुखमा ४ नेता मुख्य दाबेदारका रुपमा आएका छन् । यी ४ नेतामा गण्डकी प्रदेशमा मुख्यमन्त्री भइसकेका पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र रघुजी पन्त छन् ।
यी चारमध्ये पनि महासेठले सभामुखको लागि सबैभन्दा बढी इच्छा देखाएको एमाले स्रोत बताउँछ । गुरुङले पनि सभामुखमा इच्छा देखाएका छन् । तर महासेठले जति उनले मरिहत्ते नगरेको स्रोत बताउँछ । अर्का नेता छविलाल विश्वकर्माले पनि सभामुखमा दाबी गरेका छन् ।
१० बुँदे पक्षधर नेता रघुजी पन्तले पनि सभामुखमा दाबी गरिरहेका छन् । ओली खेमामा यसअघि माधव नेपालनिकट रहेका नेतालाई पेलेर जान नहुने मत पनि बलियो रहेको बताइन्छ । पन्त दलहरूबीच समन्वय गर्न सक्ने र अनुभवी नेता हुन् भन्ने बहस पनि भइरहेको छ ।
पछिल्लो समय विपक्षी कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवार पनि अनुभवी र बाहिरबाट पनि रुचाउने अनुहार हुनुपर्ने मत एमालेमा छ ।
यसैले पनि यसअघि सभामुख भइसकेका सुवासचन्द्र नेम्वाङजस्तै सर्वमान्य पात्रको खोजीमा अध्यक्ष केपी ओली रहेका बताइन्छ ।
‘सभामुख बनाउनका लागि मात्रै बनाएर हुँदैन । दलहरूसँग समन्वय गर्न अनुभवी नेता सभामुखमा पठाउनुपर्छ भन्नेमा अध्यक्ष हुनुहुन्छ’, ओलीनिकट स्रोतले भन्यो, ‘कांग्रेसले विश्वासको मत प्रधानमन्त्रीलाई दिएपछि राष्ट्रपतिको चुनाव पनि पेचिलो हुने देखिएको छ । यसैले अनुभवी र समन्वय गर्न सक्ने नेतालाई सभामुखमा बनाउनुपर्छ भन्नेमा अध्यक्ष हुनुहुन्छ ।’
जनजाति समुदायका गुरुङ वा दलित समुदायका विश्वकर्मालाई अघि सार्न सक्दा बाहिर पनि सकारात्मक सन्देश जाने सुझाव अध्यक्षलाई आएको स्रोत बताउँछ ।
तर एमाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले पनि संसदमा रहेका दलसँग छलफल गरेर निर्णय लिने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सभामुखको विषयमा कसरी जाने भन्नेमा विश्वासको मत दिने दलबीच ३ माघमा छलफल गर्दैछन् ।