२८ जेठ २०८३, बिहीबार

१३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता हुने

१३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता हुने

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपालको आयोजनामा १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता हुने भएको छ ।

सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, निजी क्षेत्रका सङ्गठित संस्था र स्थानीय तहका कर्मचारीमाझ आगामी माघ २४ देखि २९ गतेसम्म १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता हुन लागेको हो ।

सङ्घका अध्यक्ष कुलबहादुर आचार्यले प्रतियोगितामा ब्याडमिन्टन (पुरुष सिङ्गल्स, पुरुष डबल्स, महिला सिङ्गल्स, महिला डबल्स, ४५ वर्षमाथिको पुरुष भेट्रान्स) र पुरुष फुटसलका खेल हुने जानकारी दिए। प्रतियोगितामा भाग लिने खेलाडी तथा टिमले माघ २० गतेसम्म त्रिपुरेश्वरस्थित सङ्घको कार्यालयमा नाम दर्ता गर्नसमेत अनुरोध गरेको छ ।

प्रतियोगितामा सार्वजनिक संस्थान, नियामक निकाय, वित्तीय संस्था, बीमा कम्पनी, विकास समिति, परिषद्, विकास बोर्ड, निजी क्षेत्रका बैंक, वायुसेवा कम्पनी, दूरसञ्चार सेवा प्रदायक कम्पनी, उपत्यकाभित्रका स्थानीय तहमा कार्यरत कर्मचारीले भाग लिन पाउनेछन् ।

सङ्घका महासचिव रामविनय श्रेष्ठले प्रतियोगितामा ब्याटमिन्टन खेल दशरथ रङ्गशालाको कबर्डहलमा र फुटसलका खेलहरू भृकुटीमण्डपस्थित फुटसल मैदानमा सञ्चालन गर्न लागिएको जानकारी दिए । ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिङ्गलका लागि रु दुई हजार, पुरुष डबल्सका लागि रु तीन हजार, महिला सिङ्गलका लागि रु दुई हजार, महिला डबल्सका लागि रु तीन हजार र पुरुष भेट्रान्स डबल्सका लागि रु तीन हजार दर्ता शुल्क तोकिएको महासचिव श्रेष्ठले बताए।

फुटसल प्रतियोगिताअन्तर्गत एक टिमका लागि रु १५ हजार र दुई टिमका लागि रु २५ हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा सहभागी हुने टिम र खेलाडीले एकैप्रकारको पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीले कर्मचारी परिचयपत्रको प्रतिलिपि अनिवार्य समावेश गर्नुपर्ने र अस्थायी, दैनिक ज्यालादारी र करारका कर्मचारी खेलाडीले सम्बन्धित संस्थामा कम्तीमा छ महिना काम गरेको नियुक्तिपत्रसमेत अनिवार्य समावश गर्नुपर्ने महासचिव श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी खेलाडीलाई नगद, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलाडी पठाउँदा एक जना टिम म्यानेजर तोकेर पठाउनुपर्ने र खेल सञ्चालन गर्दा रेफ्री र अम्पायरको निर्णय अन्तिम हुनेछ । विसं २०६२ मा स्थापना भएको सङ्घले आगामी फागुन २४ गते आफ्नो साधारणसभा तथा अधिवेशनसमेत गर्न लागेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्