०६ साउन २०८३, बुधबार

विद्यालय तहमै योग शिक्षा अध्यापन गराउन सरकारले भूमिका खेल्छ : प्रधानमन्त्री प्रचण्ड

विद्यालय तहमै योग शिक्षा अध्यापन गराउन सरकारले भूमिका खेल्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्। 

आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसका अवसरमा उनले मानसिक रूपले पनि तन्दुरुस्त बनाउन योग आवश्यक रहेको बताए। विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने प्रचण्डको भनाइ थियो। 

भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाटै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको उनले त्यहाँ बताए।  भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटना भएकाले मानसिक रूपमा पनि चुस्त राख्न योग आवश्यक रहेको उनको भनाइ थियो। 

मानिसहरूको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनले बताए। अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उनले तर्क गरे। 

प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत उनले जनाए। संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको उनले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्