
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।
९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सले जनाएको छ ।
दुर्घटनास्थलबाट केही शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ ।
दुर्घटनाअघि विमानलाई आकाशमै देखेका एक प्रत्यक्षदर्शीले अन्तिम क्षणको दृश्य लोकान्तरलाई बताएका छन् ।
प्रत्यक्षदर्शी नेपाल चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार हुन् ।
सुनारको भनाइ जस्ताको तस्तै :
म एयरपोर्टनजिकै घाम तापेर बसिरहेको थिएँ । अघिपछि नआउने दिशातिरबाट विमान आइरहेको देखें । अघिपछि नर्मल आवाज हुन्थ्यो, तर आजको आवाज नर्मल थिएन । सिधा उड्छजस्तो लागेको थियो । तर पुरानो एयरपोर्टतिर आएको जस्तो लाग्यो । काठमाडौंबाट पोखरा आउँदा कतै पनि नमोडी ९० प्रतिशतभन्दा बढी विमान सिधै ल्यान्ड हुन्थ्यो । सिधा होइन अर्को दिशातिरबाट ल्यान्ड गर्न खोजेको जस्तो देखियो । टर्न गर्न नसक्दा फरक्क फर्कियो । यतै आउला जस्तो देखियो । विमान ब्यालेन्समा नरहे पनि ल्यान्ड गर्छ भन्ने लागेको थियो । तर एयरपोर्टसम्म नआइपुग्दै तल खसेर एक्कासि धुवाँको मुस्लो आएको देखियो । प्राविधिक हिसाबमा के भएको हो हामीलाई थाहा हुने कुरा भएन, तर तलबाट जबर्जस्ती टर्न गर्न खोज्दा वा छोटो ठाउँमा मोड्न खोज्दा दुर्घटना भएको जस्तो देखियो । विमानस्थलमा पुग्नुभन्दा एक डेढ किलोमिटर वरै विमान दुर्घटनामा परेको छ । एक्कासि विमान झरेको देख्दा म शक्ड भएँ । पाँच मिनेट छतबाट तल झर्न पनि सकिनँ ।