
यती एयरलाइन्सको विमान आइतवार पोखरामा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका ६८ जनाको शव फेला परेको छ ।
अन्य ४ जनाको अवस्था भने अज्ञात रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् ।
विमानमा चालक दलका ४ सदस्यसहित कुल ७२ जना सवार थिए ।
'अहिलेसम्म हामीले ६८ वटा शव भेटेका छौं, जसमध्ये ३१ वटा शव संकलन भइसकेको छ,' प्रजिअ केसीले लोकान्तरसँग भने, 'बाँकी शव संकलनकै प्रक्रियामा छ । ४ जनाको अवस्था अज्ञात रहेकाले खोजी कार्य जारी छ ।'
आज शवहरू संकलनको काम मात्र गरिने र शनाखत भोलि मात्र हुने उनले बताए । पोस्टमार्टम र शनाखतको प्रक्रिया पूरा गरेर आफन्तलाई शव जिम्मा लगाउने तयारी छ ।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान आइतवार बिहान करीब ११ बजे दुर्घटनामा परेको थियो ।