०७ साउन २०८३, बिहीबार

विराट कोहलीले बनाए श्रीलंकाविरुद्ध कीर्तिमान

विराट कोहलीले बनाए श्रीलंकाविरुद्ध कीर्तिमान

उत्कृष्ट लयमा रहेका विराट कोहलीले श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा  कीर्तिमान बनाएका छन्।

कोहलीले एकै टोलीविरुद्ध सर्वाधिक शतक बनाउने विश्व कीर्तिमान राखेका हुन्।

कोहलीले श्रीलंकाविरुद्ध आफ्नो १० औं ओडीआई शतक बनाएका हुन् । यो फर्म्याटमा कुनै एक टोलीविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने विश्व कीर्तिमान हो।

यसअघि यो कीर्तिमान कोहली र भारतकै सचिन तेन्दुलकरका संयुक्त नाममा थियो । यो खेलअघि विराटले श्रीलंका र वेस्ट इन्डिजविरुद्ध ९-९ शतक बनाएका थिए । तेन्दुलकरले अस्ट्रेलियाविरुद्ध ९ ओडीआई शतक बनाएका थिए।

आज पनि विराटले श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम सिरिजमा १६६ रनको इनिङ खेलेका छन् ।

कोहलीले ११० बलको इनिङ्समा १३ चौका र ८ छक्का प्रहार गरे। यो उनको करिअरको ४६ औं शतक हो । कोहलीभन्दा अघि ओपनर शुभमन गिलले पनि ११६ रन बनाउँदै करियरको दोस्रो शतक बनाएका छन्।

यी दुईबाहेक श्रेयस अय्यरले ३८ रन र कप्तान रोहित शर्माले ४२ रन बनाए।

भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन बनाएको थियो । श्रीलंकाले अहिले जवाफी ब्याटिङ थालेको छ।

पछिल्लो चार एकदिवसीयमा विराटको तेस्रो शतक

झण्डै तीन वर्षदेखि शतकको खडेरी भोगेका कोहली अहिले शतकको वर्षा गरिरहेका छन् । उनले पछिल्लो चार एकदिवसीय खेलमा तेस्रो शतक प्रहार गरेका हुन्।

बंगलादेशविरुद्धको सिरिजको अन्तिम खेलमा शतक प्रहार गरेपछि उनले श्रीलंकाविरुद्ध चालू सिरिजको पहिलो र तेस्रो खेलमा तीन अंकको स्कोर बनाएका थिए । 

दुई टोलीबीच हालसम्म १९ द्विपक्षीय एकदिवसीय शृङ्खला खेलिएको छ । 

भारतले १४ पटक र श्रीलंकाले २ पटक जितेका छन् । जसमध्ये ३ वटा शृङ्खला बराबरी भएका छन् । १४ मध्ये ३ पटक, भारतले श्रीलंकाविरुद्ध शृङ्खलाका सबै खेलहरू जितेर क्लिन स्वीप गरेको थियो।
 

कमेन्ट गर्नुहोस्