
यती एयरलाइन्सको विमान दुर्घटनाका सन्दर्भमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ । सेनाले रातको समयमा खोज तथा उद्धारको कार्यलाई निरन्तरता दिन कठिन भएकाले सोमबार बिहानैदेखि सो कार्यलाई सुचारु गर्ने जनाएको छ । यद्यपि अहिले पनि सेनाको २०० फौज घटनास्थलमै रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाली सेनाको टोली घटनास्थलमा परिचालन भएको थियो । करिब २०० जनाको सङ्ख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरिरहेको हो । घटनास्थलबाट अहिलेसम्म ६८ जनाको शव निकालिएको छ भने अन्य ४ जनाको खोजीकार्य जारी छ ।