२७ असार २०८३, शनिबार

पत्रकार पौडेलको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

पत्रकार पौडेलको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै पोखरा विमान दुर्घटनामा निधन भएपछि महासंघले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । महासंघका महासचिव रोशन पुरीले महासंघको तर्फबाट शोक विज्ञप्ति प्रकाशित गर्दै उनको निधनमा दुःख व्यक्त गरेका हुन् । 

आइतबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको थियो ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य रहेका थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एक पटक उपाध्यक्ष र दुई पटक सचिवका रूपमा रही योगदान दिएका थिए । 

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता शुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा पनि काम गरे । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन् । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासंघले ठहर गरेको छ । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासंघको बुझाइ छ ।

शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै महासंघले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । 

महासंघ उपलब्ध केन्द्रीय समितिको आइतबार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । निर्णयअनुसार माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । माघ २ देखि १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको अध्यक्ष विपुल पोखरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्