२१ असार २०८३, आइतबार

सरसर्ती २४ घण्टा : अवतरण हुनै लाग्दा खस्यो जहाज, आन्तरिक उडानमा सबैभन्दा ठूलो दुर्घटना

सरसर्ती २४ घण्टा : अवतरण हुनै लाग्दा खस्यो जहाज, आन्तरिक उडानमा सबैभन्दा ठूलो दुर्घटना

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आइतबार काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यती एयरलाइन्सको विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा दुर्घटना भयो । 

विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनास्थलमा हालसम्म ६८ जनाको शव फेला पारिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा विमानस्थलस्थित रेस्कूय एण्ड फायर फाङटिङबाट संयुक्त रूपमा खटिएको टोलीले हेलिकोप्टर सहितको सहयोगमा खोजी तथा उद्दार कार्य गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा २२७ सशस्त्र प्रहरी, ७०० जना प्रहरी र २०० जना नेपाली सेनाको टोली खटिएको जनाइएको छ ।
००००
मृतकहरुको शवलाई गण्डकी अस्पतालमा राखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हव अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।  
००००
राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा निधन भएकाहरूको परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्नेबारे छलफल गरेको छ ।

मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा सहजीकरण तथा मृतकका परिवारजनलाई आगामी दिनमा सहजीकरण गर्ने सम्बन्धमा उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी पोखरामा आफ्नो जहाज दुर्घटना भएपछि यती एअरलाइन्सले सोमबार हुने आफ्ना सम्पूर्ण नियमित उडानहरू स्थगित गरेको छ।
००००
विमान दुर्घटनामा तीन चिकित्सकको पनि निधन भएको छ ।  दुर्घटनामा डा गणेश थापासहित डा सुशिल श्रेष्ठ र  डा शोना दिवाकरको मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ ।  सघले सुशील र सोनाको १० महिने शिशुको समेत मृत्यु भएङ्को जनाएको छ । यस्तै कलाकार, पत्रकारसहित विभिन्न क्षेत्र र पेशाका व्यक्तित्वहरुको पनि निधन भएको छ । 
००००
मानवीय क्षति हुने गरी नेपाली आकाशमा आइतबार भएको ६५ औं दुर्घटना हो । समग्रमा भने १ सय ८ दुर्घटना भइसकेको तथ्यांक छ । जसमा ८३६ जनाको मृत्यु भइसकेको छ । पुरानो र नयाँ विमानस्थलको बीचमा भएको यो दुर्घटना आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो हो । यसअघि एटीआर ७२ विमान नेपालमा दुर्घटना भएको थिएन ।

यो आन्तरिक उडानमा सबैभन्दा ठूलो दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनले बताए । 
००००
आइतबार दुर्घटना भएको यति एयरको विमान २५ वर्ष अनुभवी सिनियर पाइलट कमल केसीले उडाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चालकले विमान अवतरणका लागि क्लियरेन्स लिइसकेका थिए।

‘१०ः३२ मा काठमाडौंबाट उडेको विमान १०ः५८ मा ल्यान्ड हुनुभन्दा ठीक दुई मिनेटअघि १०ः५६ मा चालकले पोखरा टावरसँग ल्यान्डका लागि क्लियरेन्स लिइसकेका थिए,’ ठाकुरले भने,‘१०ः५८ मा ल्यान्ड गर्ने जहाज किन दुर्घटनाग्रस्त भयो, त्यस विषयमा हालसम्म ठोस कारण खुल्न सकेको छैन।’ 

कतिपयले विमानलाई शार्प टर्न गरेका कारण दुर्घटना भएको हुनसक्ने भनिरहेका छन् ।पोखरा विमानस्थलमा अवतरण हुन केही मिनेटमात्रै बाँकी रहँदा विमान खसेको हो । 

००००
यसैगरी विमान दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आइतवारको आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । सरकारले दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा समेत दिएको छ । 
००००
विमान दुर्घटनापछि नेपालस्थित चिनियाँ तथा अमेरिका दूतावासले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमामार्फत अमेरिकी दूतावासले लेखेको छ, ‘पोखरामा भएको यति एयरलाइन्सको दुस्खद दुर्घटनाले हामी अत्यन्त मर्माहत भएका छौं। हामी स्थितिलाई सावधानीपूर्वक अनुगमन गरिरहेका छौं।’

त्यस्तै चिनियाँ राजदूत चेन सङले लेखेका छन्, ‘पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु। यस दुःखद् घडीमा हामी नेपाली जनताको साथमा छौं मृतकहरूप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु ।’ दुर्घटनाबारे विश्वभरका मिडियाले कभरेज गरेका छन् । विमान दुर्घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा खटिइरहेका छन् । राति रोकिएको उद्दारकार्य सोमबार बिहानैदेखि फेरि थालिएको छ । 
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार भेटवार्ता भएको छ। आइतबार मन्त्रिपरिषद् विस्तारमा गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड थिए। तर यती एअरको विमान दुर्घटनापछि मन्त्रिपरिषद् विस्तारलगायत राजनीतिक तयारीहरू धकेलिएका छन्।  यहीबीचमा अब दुई नेताबीच भेटवार्ता भएको हो । 
००००
कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सभामुखको निर्वाचनअघि अध्यक्ष नेपाल देउवालाई भेट्न धुम्बाराहीस्थित उनकै निवासमा पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्