
हालै सरुवा भई जान लागेका डीआईजी र एसएसपीहरूलाई अपराध अनुसन्धानमा अझ बढी केन्द्रित भएर काम गर्न प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा सोमबार आईजीपी सिंहले जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए।
आर्थिक रूपमा पारदर्शी भएर तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न उनले निर्देशन दिए।
कार्यक्षेत्रमा गरेको कामको मूल्यांकनका आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्यांकमा हुनुपर्ने बताए। र त्यही नै आफ्नो कामको जावफदेहिता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए।
योग्यताका आधारमा जिम्मेवारी दिइएकाले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा आफूले राखेको उनको भनाइ थियो।
सरकारले अंगीकार गरेको समृद्धिसहित सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रदेश सरकार एवम् स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए।
प्रहरीको आचरण एवम् व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेभन्दा परिस्कृत भएको, पूर्वाधारहरू विकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने चर्चा गर्दै तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने उल्लेख गरे।
मानवअधिकारसम्बन्धी ज्ञानलगायत भीड नियन्त्रणमा प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।