
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ककपिटमा रहेको ब्ल्याक बक्स र फ्लाइट डाटा रेकर्डर भेटिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले लोकान्तरसँग उक्त कुराको पुष्टि गरे ।
'दुर्घटनाग्रस्त विमानबाट हामीले प्लेनको ककपिटमा रहेको भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) र फ्लाइट डेटा रेकर्डर सुरक्षित रिकभर गरेका छौं,' ठाकुरले लोकान्तरसँग भने, 'रिकभर भएका ती दुवै उपकरण पोखरामा जाँचबुझ आयोगलाई हस्तान्तरण गर्ने प्रक्रियामा छौं ।'
अन्तिम अवस्थामा पाइलटहरूबीच भएको कुराकानी भ्वाइस रेकर्डरमा रेकर्ड हुन्छ। उक्त रेकर्ड सुनेर फ्लाइटमा पाइलटहरूले के कुराकानी गरेका थिए भन्ने थाहा हुन्छ ।
उक्त संवादबाट पनि के कति कारणले विमान दुर्घटना भएको हो भन्ने कुरा पत्ता लगाउन सहज हुन्छ ।
आइतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अवतरण गर्ने क्रममा सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा ६८ जना यात्रु तथा ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार भएका थिए ।