२३ जेठ २०८३, शनिबार

लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुखमा खाँणको उम्मेदवारी दर्ता

लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुखमा खाँणको उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन गर्न सोमबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मेनुका खाँणले प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।

सभामुखको प्रस्तावकमा नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य भूमीश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशीषकुमार चौधरी रहेका छन् ।

यस्तै, उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सीके) रहेका छन्।

मनोनयन दर्ताको समय बेलुका ५ बजेसम्म छ । नेपाली कांग्रेसले भने, सभामुख र उपसभामुखको लागि अझै मनोनयन दर्ता गरेको छैन । भोलि सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

कांग्रेसले उम्मेदवारी नदिए सभामुखमा घर्ती र उपसभामुखमा खाँण निर्विरोध हुनेछन् । उनीहरूलाई सत्तारुढ गठबन्धनको साथ छ । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको भागबण्डाअनुसार एमालेले मुख्यमन्त्री पाएपछि सभामुख माओवादीको भागमा परेको छ ।

माओवादीले पाल्पा–२ (ख) बाट निर्वाचित घर्ती मगरलाई सभामुख बनाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् । १/१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गरेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्