
इम्मानुएल टड फ्रान्सका महानतम विद्वानमध्ये एक हुन् । मानवशास्त्री टडले तेस्रो विश्वयुद्ध शुरू भइसकेको दाबी गरेका छन् ।
सोभियत संघको पतन हुँदैछ भनी सन् १९९२ भन्दा धेरै अघि भविष्यवाणी गरेका टडले ल फिगारो पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा युक्रेन युद्ध तेस्रो विश्वयुद्धको आरम्भिक क्षण भएको बताएका हुन् । टडले फ्रान्सेली भाषामा बताएको कुरालाई अर्नाउ बर्त्राँले आफ्नो ट्विटरथ्रेडमा अंग्रेजी भाषामा सारसंक्षेप खिचेका छन् ।
युक्रेन द्वन्द्व सीमित भूभागीय युद्धबाट शुरू भएर अहिले एकातिर पश्चिम अनि अर्कातिर रुस र चीनबीचको वैश्विक आर्थिक भिडन्तमा परिणत भइसकेको छ । यो विश्वयुद्ध बनिसकेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुरूमा ठूलो भूल गरे । युद्ध शुरू गर्नुअघि उनले युक्रेन पतन हुन खोजेको समाज तथा असफल राज्यको दिशामा हिँडिरहेको अनुमान गरेका थिए । पहिलो झड्कामै यो कुहिँदै गरेको समाज ध्वस्त हुन्छ भन्ने उनको आकलन थियो ।
तर हामीले देख्यौं, कुहिन लागेको समाजले पनि बाहिरी आर्थिक तथा सैन्य स्रोत प्राप्त गरेमा नयाँ किसिमको सन्तुलन र आशाको किरण भेट्ने रहेछ ।
अन्तर्राष्ट्रिय सम्बन्धका यथार्थवादी चिन्तक जोन मियर्सहाइमरले सही भनेका हुन् । युक्रेनी सेनालाई सन् २०१४ देखि नेटो (अमेरिकी, बेलायती र पोलिश) सेनाले सञ्चालन गर्दै आएका थिए । त्यसैले युक्रेन नेटोको वस्तुगत सदस्य छँदैथियो ।
उता रुसीहरूले युक्रेनलाई नेटोको सदस्य बनेको कदापि नसहने बताइरहेका थिए । त्यसैले रुसीहरूको दृष्टिमा यो युद्ध प्रतिरक्षात्मक तथा निवारणात्मक दुवै हो ।
रुसीहरूलाई यस युद्धमा कठिनाइ आइरहेको कुराले पश्चिमीहरूलाई आनन्दित बनाउनुपर्ने कुनै कारण छैन किनकि रुसीहरूका लागि यो अस्तित्वको लडाइँ हो । यो युद्ध उनीहरूका लागि जति कठिन हुन्छ, उनीहरूले त्यति बढी आक्रमण गर्नेछन् । मियर्सहाइमरको यो विश्लेषण सही हो ।
तर मियर्सहाइमर असल अमेरिकी नागरिक भएको नाताले आफ्नो मुलुकलाई बढाइचढाइ प्रस्तुत गर्छन् । रुसीहरूका लागि युक्रेन युद्ध अस्तित्व रक्षाको सवाल हो भने अमेरिकीहरूका लागि धेरैमध्ये एक शक्तिको खेल हो भन्ने मियर्सहाइमरको भनाइ छ ।
भियतनामपछि अफगानिस्तान र इराकमा पनि अमेरिकाले युद्ध गरेकै हो । अर्को एउटा विफलता हासिल भए के हुन्छ त ?
मियर्सहाइमरका अनुसार, अमेरिकी भूराजनीतिको आधारशिला हो ः हामी टाढा दुईवटा महासागरको बीचमा सुरक्षित छौं र हामीलाई केही पनि हुँदैन त्यसैले हामी जे मन लाग्यो त्यही गर्न सक्छौं । अमेरिकाको अस्तित्व रक्षाका लागि कुनै पनि खतरा विद्यमान छैन ।
यो अपर्याप्त विश्लेषण हो र बहालवाला राष्ट्रपति जो बाइडनलाई दिमाग नलगाइकन अघि बढ्न यही विश्लेषणले काम गरेको हो । वास्तवमा अमेरिकाको स्थिति नाजुक छ ।
रुसी अर्थतन्त्रले गरिरहेको प्रतिरोधका कारण अमेरिकाको साम्राज्यवादी प्रणाली भीरको छेउमा पुगिसकेको छ । नेटोको आर्थिक शक्तिका सामु रुसी अर्थतन्त्र टिक्ला भनी कसैले पनि अपेक्षा गरेको थिएन । रुसीहरू स्वयंले पनि त्यो अपेक्षा गरेका थिएनन् जस्तो लाग्छ ।
रुसी अर्थतन्त्रले पश्चिमा प्रतिबन्धलाई अनिश्चित कालसम्म झेल्न सकेमा, युरोपेली अर्थतन्त्रलाई घुँडा टेकाएमा अनि आफू चाहिँ चीनको सहयोगमा दह्रो गरी अडिएमा संसारमाथि अमेरिकी मौद्रिक तथा वित्तीय नियन्त्रण ध्वस्त हुनेछ । त्यसपछि अमेरिकाले अनावश्यक कुरामा लागेर भइरहेको व्यापार घाटामा लगानी गरिरहने सम्भावना मर्नेछ ।
त्यसैले यो युद्ध अमेरिकाका लागि पनि अस्तित्वको सवाल हो । अमेरिकीहरू यस युद्धबाट पछि हट्न सक्दैनन् र यसलाई टुंग्याउन पनि सक्दैनन् । त्यसैले हामी अन्त्यहीन युद्धको स्थितिमा छौं । एउटा वा अर्को पक्ष धराशायी नहुन्जेल यो भिडन्त रोकिने छैन ।
अमेरिका पतनको बाटोमा छ तर उसप्रति निर्भर राज्यहरूको स्वायत्तताका लागि यो खराब समाचार हो ।
भारतका विदेशमन्त्री एस जयशंकरले आफ्नो पुस्तक दी इन्डिया वेमा अमेरिकाको कमजोरी केलाएका छन् । उनका अनुसार, चीन र अमेरिकाबीचको भिडन्तमा कोही पनि विजयी हुँदैन तर यसले भारत जस्ता मुलुकलाई स्थान दिन्छ ।
म भन्छु, तर यसमा युरोपेलीहरूका लागि स्थान छैन ।
अमेरिका संसारका अन्य ठाउँमा कमजोर भए पनि युरोप र जापानमा बलियै छ किनकि साम्राज्यवादी प्रणाली खुम्चिँदै जाँदा अमेरिकाले संरक्षित राज्यहरूमाथिको पकड थप मजबूत बनाएको छ । अमेरिकी प्रणाली खुम्चिँदा संरक्षित राज्यका सम्भ्रान्तहरूमा त्यसको असर सबभन्दा बढी पर्छ (यसमा सम्पूर्ण युरोपलाई समेट्न सकिन्छ) ।
अमेरिकासामु राष्ट्रिय स्वायत्तता गुमाउने (वा गुमाइसकेका) पहिलो मुलुक बेलायत र अस्ट्रेलिया हुन् । इन्टरनेटका कारण आंग्लभाषी मुलुकहरूसँग अमेरिकाको अन्तर्क्रिया घनीभूत बनेको छ । ती मुलुकहरूका प्राज्ञिक, सञ्चारमाध्यम तथा कला क्षेत्रका सम्भ्रान्तहरू अमेरिकाकै एक अंग हुन् ।
युरोपेलीहरू आआफ्ना राष्ट्रिय भाषाका कारण केही हदसम्म संरक्षित छन् । तर युरोपेलीहरूको पनि स्वायत्तता द्रुत गतिमा हराउँदैछ । इराक युद्ध सम्झौं त । त्यतिखेर फ्रान्सका शिराक, जर्मनीका श्रोडर र रुसका पुटिनले युद्धविरोधी संयुक्त पत्रकार सम्मेलन गरेका थिए । अहिले फ्रान् र जर्मनी समेत अमेरिकाको पछि लागेर रुसविरोधी बनेका छन् ।
अमेरिकाको जनसंख्या रुसको भन्दा दोब्बर छ (विद्यार्थीको उमेर समूहको कुरा गर्दा २.२ गुणा बढी) । तर अमेरिकामा जम्मा ७ प्रतिशत विद्यार्थीले इन्जिनीयरिङ पढिरहेका छन् भने रुसमा २५ प्रतिशत विद्यार्थीले इन्जिनीयरिङ अध्ययन गरिरहेका छन् । त्यसको अर्थ हुन्छ, २.२ गुणा कम मानिसले अध्ययन गरिरहँदा रुसले ३० प्रतिशत बढी इन्जिनीयरलाई तालिम दिइरहेको छ ।
अमेरिकाले विदेशी विद्यार्थी ल्याएर यो अन्तर पुर्ने प्रयास गरेको छ । तर त्यस्ता विद्यार्थी मूलतः भारतीय हुन् र चिनियाँहरू अझ बढी छन् । यो अमेरिकाका लागि सुरक्षित छैन र यही संख्या पनि घटिरहेको छ । अमेरिकी अर्थतन्त्रको दुविधा नै यही हो । उसले दक्ष चिनियाँ श्रमिक ल्याएर मात्र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ ।
सोभियत संघसित एक किसिमको सफ्ट पावर थियो तर यसको नास्तिकवादका कारण सम्पूर्ण मुस्लिम विश्व यसलाई मन पराउँदैनथियो । अनि भारतमा पनि पश्चिम बंगाल र केरलाबाहेक सोभियत संघले कसैलाई पनि प्रेरित गरेको थिएन ।
तर अहिले रुसले आफूलाई विशाल शक्तिको चरित्रमा ढालेको छ । ऊ उपनिवेशवादको विरोधी मात्र नभई पितामार्फत वंश चलाउने पद्धति तथा परम्परागत प्रचलनको संवर्धन गर्ने गर्छ । त्यसकारण उसले अन्य ठाउँका कन्जर्भेटिभहरूलाई थप आकर्षित गर्न सक्छ ।
पुटिनको रुस झनै बढी नैतिक संवर्धनवादी बनेको छ । त्यसैले ऊ साउदीहरूप्रति सहानुभूतिशील छ । महिलाहरूको कक्षमा पारलिंगी महिलालाई पहुँच दिने विषयमा अमेरिकीहरूसँग बहस गर्न साउदीहरूलाई सहज छैन ।
पश्चिमी सञ्चारमाध्यमहरू रुस एक्लियो भनिरहन्छन् । त्यसले उनीहरूलाई हास्यास्पद बनाएको छ । संयुक्त राष्ट्रसंघमा खसेका मत हेर्दा ७५ प्रतिशत विश्वले पश्चिमको अनुसरण नगरेको पाइन्छ । यसरी हेर्दा पश्चिम एकदमै सानो देखिन्छ ।
पश्चिम र बाँकी विश्वको विभाजनका विषयमा मानवशास्त्री अध्ययनबाट के थाहा पाइन्छ भने पश्चिमी मुलुकहरूमा एकल परिवार संरचना छ र त्यसमा द्विपक्षीय नाता प्रणाली छ । भनाइको मतलब, बालबालिकाको सामाजिक हैसियतको परिभाषामा पुरुष र महिलाको नाता बराबर छ ।
अफ्रिका, युरोप र एसियाको भूभागले चर्चेका विश्वका अन्य समाजमा समुदायगत तथा पिताको वंशपरम्परामा आधारित पारिवारिक इकाइहरू छन् ।
त्यसैले युक्रेन द्वन्द्वलाई पश्चिमी सञ्चारमाध्यमहरूले राजनीतिक मूल्यमान्यताको द्वन्द्व भने पनि गहिरो गरी हेर्दा यो मानवशास्त्रीय मूल्यमान्यताको लडाइँ हो । यस विभाजनको यो अचेतन पक्ष तथा यसको गहिराइले भिडन्तलाई थप खतरनाक बनाएको छ ।