शनिवार युक्रेनको नीप्रो शहरमा ४० जनाको ज्यान जाने गरी भएको क्षेप्यास्त्र आक्रमणका विषयमा सत्यतथ्य बताउने ओलेक्सी आरेस्टोविचले मंगलवार राजीनामा दिएका छन् ।
शक्तिशाली रुसी क्षेप्यास्त्र नीप्रोमा रहेको नौ तल्ले आवासीय भवनमा ठोकिएको थियो । उक्त आक्रमणलगत्तै आरेस्टोविचले उक्त रुसी क्षेप्यास्त्रलाई युक्रेनको वायु प्रतिरक्षा प्रणालीले रोकेको अनि त्यो गएर भवनमा ठोकिएको बताएका थिए ।
तर युक्रेनी अधिकारीहरूले त्यो ख–२२ नामक लामो दूरीको एन्टी शिप क्षेप्यास्त्र भएको र त्यसलाई बाटैमा नरोकिएको बताए ।
‘युक्रेनसँग यस्तो किसिमको क्षेप्यास्त्र रोक्ने क्षमता भएको कुनै हतियार छैन,’ उपरक्षामन्त्री हान्ना मालियारले बताइन् । युक्रेनी वायुसेनाले पनि गत फेब्रुअरीदेखि यस्तो प्रकारका २१० वटा क्षेप्यास्त्र प्रहार भएको र कुनैलाई पनि वायु प्रतिरक्षा प्रणालीले रोक्न नसकेको बताएको छ ।
आरेस्टोविचको टिप्पणीको चौतर्फी आलोचना भएपछि उनले फेसबूक पोस्टमा माफी मागेका थिए । तर रुसी सञ्चारमाध्यमहरूले आरेस्टोविचको भनाइलाई समातेर युक्रेन दोषी रहेको बताएपछि युक्रेनीहरूले आरेस्टोविचको राजीनामा मागेका थिए ।