
पोखराको सेती खोचमा आइतवार भएको जहाज दुर्घटनामा परेका थप १ जनाको शव फेला परेको छ ।
दुर्घटनास्थलदेखि ३०० मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ । अझै १ जनाको स्थिति अज्ञात छ ।
गोताखोर परिचालन गरेर शवको खोजी कार्य गरिएको प्रहरी उपरीक्षक केसीले बताए । सोमवार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो वा होइन भन्ने यकिनका लागि डीएनए परीक्षण गर्न काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ ।
‘हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो २ व्यक्तिको भएको परीक्षणमा देखिएमा ७२ शव पुग्छन्, नत्र बेपत्ताको खोजीकार्य जारी रहन्छ,’ प्रहरी उपरीक्षक केसीले भने ।
दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ । तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ ।
अस्पतालमा रहेका ३ मध्ये २ जनाको शव बुधवार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ ।
सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मंगलवार काठमाडौं पठाइएको छ । काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतवार दुर्घटनामा परेको थियो ।