०७ साउन २०८३, बिहीबार

राष्ट्रपति र सभामुखको निर्वाचनमा मिलेर जान कांग्रेससँग प्रधानमन्त्री प्रचण्डको प्रस्ताव, छलफल गर्न कांग्रेस तयार

राष्ट्रपति र सभामुखको निर्वाचनमा मिलेर जान कांग्रेससँग प्रधानमन्त्री प्रचण्डको प्रस्ताव, छलफल गर्न कांग्रेस तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र प्रधानमन्त्रीको चुनावमा सहमतिबाट अघि बढ्ने सकिने प्रस्ताव राखेका छन् । 

विश्वास मत दिने दलहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मिलेर जान प्रस्ताव गरेको जानकारी कांग्रेसका मुख्य सचेतक रमेश लेखकले दिए ।

'कांग्रेस प्रतिपक्षी दल हो । तर प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएको हुनाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको बारेमा छलफल गर्न तयार छौैं । प्रधानमन्त्रीले यदि छलफल गर्न तयार हुनुभयो भने । उहाँले यी पदहरूमा छलफल गरेर सहमतिमा जान सकिन्छ कि भनेर पनि भन्नुभएको छ । हामीले हाम्रो कुरा राख्यौं । विषय प्रवेश भए पनि कुनै सहमति भएको छैन ।’ 

प्रधानमन्त्रीले मिलेर जान गरेको प्रस्तावमा आफूहरू छलफल गर्न तयार रहेको जानकारी गराएको पनि लेखकले बताए । 

बैठकमा सहभागी माओवादी नेता एवं सञ्चार मन्त्री रेखा शर्माले पनि सबै राजनीतिक विषय र तटस्थ रहने संवैधानिक पदका विषयमा छलफल गरेर जान प्रधानमन्त्री तयार रहेको जानकारी दिइन् । 

‘प्रधानमन्त्रीले छलफलका क्रममा सबै राजनीतिक विषयमा छलफल गरेर जान सकिन्छ भन्नुभएको छ । तटस्थ रहने संवैधानिक पदका विषयमा पनि छलफल गरेर जान सकिन्छ भन्ने प्रधानमन्त्रीको कुरा हो ’ उनले बैठकपछि भनिन्,

‘असाधारण विश्वासको मत पाएपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिनुभयो । सबैसँग मिलेर जान खोज्नु उहाँको सकारात्मक प्रयास हो । सत्ता साझेदारको हिसाबले एमाले अध्यक्ष ओलीले पनि कांग्रेसका नेतालाई धन्यवाद दिनुभयो । सभामुखको विषयमा उम्मेदवारी दर्ता पछाडि पनि छलफल हुन सक्छ । प्रधानमन्त्रीमा प्रचण्डले छलफल गरे जस्तै उम्मेदवारले पनि पहल गर्ने कुरा हुन्छ । सत्ता साझेदार दलले पनि सबैबीच छलफल गरेर जानुपर्छ भन्ने मत राख्नुभएको छ ।’ 

माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । यसको लागि बुधवार मनोनयन दर्ताको तालिका छ । राष्ट्रपतिको निर्वाचन माघ २८ गतेभित्र गरिसक्नुपर्नेछ ।

सर्वदलीय बैठकमा सहभागी भए पनि एमाले अध्यक्ष केपी ओली बैठक सकिनु आधा घण्टाभन्दा अगाडि नै निस्किएका थिए । ओली निस्किएपछि विभिन्न तटस्थ बस्नुपर्ने पद र संवैधानिक पदमा मिलेर जान सकिन्छ कि भन्ने धारणा प्रधानमन्त्री र कांग्रेस दुवै पक्षबाट आउनु अर्थपूर्ण देखिएको छ । 

कमेन्ट गर्नुहोस्