
उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन्।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरू नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरू भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरूमा सहयोग पुग्ने आशा गरेको बताए।
सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरूका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने लिङ्देनले बताए।
देशभित्रका उद्योगी, व्यापारीहरूलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरूलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे। उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता पनि जनाए।