०२ असार २०८३, मंगलबार

प्रविधिको विकास गर्न राष्ट्रिय नवप्रवर्तन सम्मेलनको तयारी

प्रविधिको विकास गर्न राष्ट्रिय नवप्रवर्तन सम्मेलनको तयारी

नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

प्रतिष्ठानका अनुसार माघ १० गते सम्मेलन हुनेछ । सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणालीसम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्कजस्ता विषयमा छलफल हुनेछ । कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास लिएको छ । 

देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भुमिका बिस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन सम्मेलन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा. ईश्वर बज्राचार्यले बताए ।

सम्मेलनमा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताए । प्रदर्शनका क्रममा प्यानल छलफल, विज्ञ प्रस्तुती र प्रदर्शनीहरु रहने र सात प्रदेशबाट नै सहभागी हुने बताइएको छ ।  

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विषय प्राविधिक डा. रविन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवर्तकहरुलाई आफ्नो काममा सुधार गर्न सहयोग पुग्ने विश्वास लिएको बताए । यस किसिमका सम्मेलनले नेपाललाई कस्ता फाइदाहरु हुन्छन् भन्नेकुराको पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई एक ठाउँमा ल्याउने उद्देश्य राखको आयोजकले बताएको छ । देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उद्देश्यले शुरु हुने सम्मेलनमा सबै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि सम्बोधन हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्