३० जेठ २०८३, शनिबार

माटोका भाँडा बनाउने काममा रमाइरहन्छन् गाजुराम

माटोका भाँडा बनाउने काममा रमाइरहन्छन् गाजुराम
प्रतिकात्मक तस्वीर

दाङको गढवा गाउँपालिका–३ पत्रेङगाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेशामा अझै सक्रिय छन् । माघ महिनाको कठ्यांग्रिने जाडोको कुनै प्रवाह नगरी अहिले पनि उनको दिनचर्या माटो मुछ्नेदेखि भाँडा बनाउनेमा बित्छ ।

उनी विगत ५ दशकदेखि पेशामा संलग्न छन् । गजुराम मात्र होइन, उनका ७ भाइ छोरा यही माटोको भाँडा बनाउने पेशा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् ।

विदेश गएरभन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरूलाई यही पेशालाई निरन्तरता दिन सुझाव दिएको उनले बताए ।

यही पेशाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उनले थपे । उनले भने, ‘जग्गा जमिन केही छैन, मेरो पनि छैन, बाबुबाजेको पनि थिएन, छोराको पनि छैन तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्यौं ।’

गाजुरामसहित छोरा, बुहारी घैंटा, भुर्की, ठेकी, गमला, खुर्तुके, पाला लगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महिनामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म भाँडा बेचेर आम्दानी गरिरहेको गाजुरामले सुनाए ।

छोराहरूले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने गरेको उनको भनाइ छ । कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवा समेत रहेका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउने गर्छन् । 
 
गाउँमा अहिले करीब ३५ घर परिवार कुमाल छन् । सबैको पेशा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटोका भाँडा बिक्न केही कमी भएको उनको भनाइ छ ।
     
विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थपे, ‘पढायो पढायो, काम गरभन्दा मान्दैनन्, पढे लेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन् ।’

गाजुरामका कुनै पनि छोराले पढेका छैनन् । उनी भन्छन्, ‘शायद पढेको भए, मैले नि माटोका भाँडा बनाउने थिइनँ कि ?’

salt training

कमेन्ट गर्नुहोस्