
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली शनिवार दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ ।
दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली शनिवार नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।
मन्त्रीसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी जाँदैछन् । गत पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा समेत फैलिएको छ ।
अहिलेसम्म नेपालगञ्जमा २०० बालबालिका संक्रमित र १ जनाको निधन भएको छ । खजुरामा १८, कोहलपुरमा ५, नरैनापुरमा १५, डुडुवामा ८ बालबालिकामा दादुराको प्रकोप देखिएको छ ।
मन्त्रालयले दादुरा विरुद्धको खोप नलगाएकाले दादुरा–रुवेलाको प्रकोप फैलिएको जनाएको छ । मन्त्रालयले पुस २२ गतेदेखि प्रकोप फैलिएका ठाउँमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइरहेको छ । अहिलेसम्म ४२ हजार ९७८ बालबालिकालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी ४४ हजार ४०२ जनालाई खोप लगाइसकेको मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
सरकारले सन् २०२३ सम्म नेपाललाई दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले बाँकेको नेपालगञ्जमा दादुरा देखिएकाले चुनौती थपिएको छ ।