
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संविधानको गलत व्याख्या गर्नेलाई आफ्नो तलब काटेर भए पनि कोचिङ क्लासको व्यवस्था गर्न माग गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै चौधरीले संविधानको गलत व्याख्या गर्दै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेलाई आफ्नो तलबबाट कोचिङ क्लास पढाउन आग्रह गरेका हुन् ।
‘७२ सालको संविधानको धारा ७६ का उपधारामा के लेखिएको छ ? यसको मर्म बताउने र सिकाउने कुरामा ध्यान दिनुपर्ने छ । प्रतिनिधिसभामा कोचिग क्लासको लागि बजेटको व्यवस्था छैन होला । छैन भने मेरो तलबबाट काटेर यस्तो कुतर्क गर्नेलाई राम्रोसँग पढाउने व्यवस्था गर्न आग्रह गर्छु ।’ उपसभामुखमा कांग्रेस उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै चौधरीले भने ।
कानुनी राज्यको कुरा गर्ने तर राष्टपति मिलेर आफू अनुकूल मन लागेको बेलामा निर्वाचन घोषणा गर्नुलाई गलत हिसाबले ताजा जनादेशको रुपमा व्याख्या गरिएको भन्दै चौधरीले विरोध जनाए ।
जनताको बहुदलीय जनवाद, संवैधानिक सर्वोच्चता जे भने पनि आफ्नो स्वार्थमा काम गर्ने गलत प्रवृत्ति नेताहरूमा रहेको भन्दै उनले झुट र कुतर्क गर्नेलाई कोचिङ क्लास गराउनुपर्ने बताएका हुन् ।
सभामुख कसैको एसम्यान बन्न नहुने भन्दै उनले पदीय मर्यादा अनुसार नै आफ्नो भूमिका निभाउनुपर्ने बताए ।