
स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका –४ थाङपालकोटमा हाटबजार शुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो ।
प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला शुरू गरिएको सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी दिइन् । सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नं ३ मा गत वर्षदेखि नै हाटबजार व्यवस्थापन गरिरहेको छ । हाटबजारले मुद्रा विनिमयसँगसँगै वस्तु विनिमय गरी एकअर्काको सामान साटासाट र खनखाँचो टार्नसमेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए ।
वडाध्यक्ष कुलबादुर बस्नेतले आमा दिदीबहिनीले आफ्नै परिश्रमको उत्पादनलाई बजारसम्म पु¥याइ नगद आर्जन गर्न र उपभोक्ताले सस्तोमा स्वच्छ, ताजा अग्र्यानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वासका साथ निरन्तरताको शुभकामना व्यक्त गरे । आर्सो नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो बजार केन्द्रको अधिकतम् उपयोग भई स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताए । आफ्नै आँगनमा स्थानीय उत्पादन खरिद बिक्री गर्न पाएकामा स्थानीय सुर्दशन साकोटाले खुसी व्यक्त गरे ।
उत्कृष्ट युवा किसान सम्मानित
सिन्धुपाल्चोकका कुमार आचार्य उत्कृष्ट युवा तथा महिला किसान कार्यक्रमबाट सम्मानित भएका छन् । उदार स्वयंसेवक आबद्ध सामाजिक संस्था नेपालद्वारा आयोजित एक कार्यक्रमबीच आचार्य सम्मानित भए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न जिल्लाका ५० युवालाई सम्मानित गरे । आचार्य सिन्धुपाल्चोकमा मिश्रित पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका छन् । उनले सिताके च्याउ, गाईपालन, कागती खेती, आलुखेतीलगायत कृषिसम्बन्धी काम गर्दैआएका छन् । आचार्यलाई उत्कृष्ट युवा उद्यमीको सम्मान दिइएको हो ।रासस