
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकले आत्मदाह गर्नुपर्ने निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई दुःख लागेको बताए । काठमाडौंमा प्रेम आचार्यले आत्मदाह गरेपछि उनको निधन भएको छ ।
उनले लेखेका छन्, ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ? यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नुहोला । तपाईंको आत्माले चिरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’