
सभामुख निर्वाचित भएपछि पार्टी राजनीतिबाट अलग भएका अग्नि सापकोटा तीन वर्षपछि पार्टी काममा फर्केका छन् ।
२०७६ माघ १२ गते सभामुख भएपछि उनले पार्टी सदस्यताबाट राजीनामा दिएका थिए । सभामुख तटस्थ भूमिकामा हुनुपर्ने परम्पराअनुसार पार्टीको सदस्यता त्यागेका सापकोटा कार्यकाल सकिएसँगै राजनीतिमा फर्केका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा उनी उपस्थित भएका हुन् ।
पार्टीको पदाधिकारी नभए पनि उनी पदाधिकारीसँगै मञ्चमा बसेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र उपमहासचिवहरुसहित सापकोटा पनि मञ्चमा छन् ।
भावी उपराष्ट्रपतिको उम्मेदवारको रुपमा माओवादीभित्र सापकोटाको चर्चा भइरहेको छ । लगातार चुनाव जित्दै आएका सापकोटा गत प्रतिनिधि सभा निर्वाचनमा भने उम्मेदवार बनेका थिएनन् ।