
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा बिरामीले ह्विलचियर प्रयोग गर्न पैसा जम्मा गर्नुपर्ने नियमप्रति आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्पतालमा ह्विलचियर प्रयोग गर्न १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने नियमको आलोचना गरेका हुन् ।
‘अस्पताल आउँदा अशक्त बिरामीलाई सुविधा दिनुपर्ने अस्पतालको कर्तव्य होइन र ?’ – प्रश्न गर्दै उनले अगाडि भनेका छन्, ‘किन डिपोजिट भनेर सोध्दा ह्विलचियरको सुरक्षाको लागि रे,सुरक्षा दिने काम त्यहाँ खटिएका सुरक्षागार्डको होइन र ? ह्विलचियर सबैले प्रयोग गर्दैनन्,आवश्यक पर्नेले मात्र गर्ने हो । सुविधा देऊ, झन्झट होइन ।’
उनले अगाडि पुनः प्रश्न गर्दै भनेका छन्, ‘१ हजार रूपैयाँ बोकेको निम्न आय भएका अशक्त बिरामीले डिपोजिट तिर्ने की उपचार गराउने ? की बोकेर हिँड्नुपर्ने हो ?’
सरकारी अस्पताल सुविधासम्पन्न र व्यवहारिक हुनुपर्ने उनले बताएका छन् । ‘कृपया सरकारी अस्पताललाई राम्रो र सेवामूलक बनाउन जोड लगाउनुहोस् । जनतालाई सुख दिन साना–साना कुरामा ध्यान जान जरुरी छ’ बस्नेतले लेखेका छन् ।