
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीले राष्ट्रपति सबै दललाई स्वीकार्य हुने साझा व्यक्तिमा सहमति खोज्न दलहरूसँग प्रस्ताव गरेको छ ।
संविधानको भावना दलीय भागवण्डाभन्दा माथिको व्यक्ति रहेको दाबीसहित माओवादीले सबैलाई मान्य हुने साझा व्यक्तिलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकमा कांग्रेस र एमालेसहितको सहमति गरेर राष्ट्रपतिमा साझा व्यक्ति खोज्नुपर्नेबारे छलफल भएको हो । बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले भारतमा डा. अब्दुल जे कलामजस्तै नेपालमा साझा व्यक्ति खोज्नुपर्ने बताएका हुन् ।
‘सकेसम्म सहमतिको व्यक्तित्वलाई अगाडि सारौं, उदाहरणका लागि भारतमा अब्दुल कलामलाई राष्ट्रपति बनाइएको थियो । त्यही प्रकारको साझा व्यक्ति खोज्न सक्यौँ भने राम्रो हुन्छ,’ पौडेलले भने, ‘हाम्रो संविधानको भावना पनि राष्ट्रपतिको दलीय भागवण्डा या लुछाचुँडी गर्ने पद होइन ।’
माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई बाइपास गर्न नहुने पनि निष्कर्ष निकालेको छ । ‘एमालेसहित सहमति गरेर जाऔं भन्ने हाम्रो प्रस्ताव हो । एमालेलाई बाइपास गरेर पनि राष्ट्रिय सहमति हुँदैन,' कांग्रेसलाई बाइपास गरेर पनि हुँदैन।’
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री माओवादीले लिने तथा राष्ट्रपति र सभामुख एमालेले लिने भद्र सहमति भएको थियो । नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोले उसलाइ समेत सहमतिमा लिएर जानुपर्ने माओवादीको नयाँ लाइन आएको हो ।
पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठकअघि बालुवाटारमा एमाले अध्यक्ष केपी शर्माले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।