प्रविधि क्षेत्रका एक धनाढ्य व्यापारीले शरीरलाई पुनः जवान बनाउनका लागि लगभग आधा अर्ब डलर खर्च गरेका छन् ।
ब्रायन जोनसन नामक ४५ वर्षीय ती व्यापारीले वर्षको २० लाख डलर खर्च गरी ३० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यविद्हरू नियुक्त गरेका छन् । उनीहरूले जोनसनका प्रत्येक अंगको निरीक्षण तथा परीक्षण गर्ने गरेका छन् । जोनसनको शरीरलाई १८ वर्षको किशोरको जस्तो बनाउने उनीहरूको लक्ष्य हो ।
जोनसन बिहान ५ बजे उठ्छन्, दिनभरि दुई दर्जन जति सप्लिमेन्ट लिन्छन् र पूर्ण शाकाहारी भोजन गर्छन् ।
उनको उमेर घट्ने प्रक्रियालाई मिहिन तरिकाले हेरिन्छ ।
उनले आफ्ना दिसाहरूको ३३ हजार ५३७ तस्वीर खिचेका छन् । अनि आफ्नो हाडको तौलदेखि राति शरीरबाट निस्कने पदार्थसम्मको पनि उनले निरीक्षण गर्ने गरेका छन् ।
उनी र उनका चिकित्सकहरूले दुई वर्षको अवधिमा उनको जैविक उमेर पाँच वर्षले घटेको दाबी गरेका छन् । अहिले उनको मुटु ३७ वर्षको मानिसको जस्तो छ भने छाला चाहिँ २८ वर्षको मान्छेको जस्तो छ । अनि फोक्सोको क्षमता तथा तन्दुरुस्ती १८ वर्षको किशोरको जस्तो छ ।
जोनसनले ब्रेनट्री पेमेन्ट सोल्युसन्स नामक कम्पनी खोलेका थिए । सन् २०१३ मा उनले त्यो कम्पनी ईबेलाई ८० करोड डलरमा बेचे ।
तर उक्त कम्पनी खोल्ने क्रममा उनले अपनाएको जीवनशैलीले उनलाई निराश र आत्महत्याको सोच आउने किसिमको बनायो । त्यसपछि उनले आफ्नो शरीरको गतिविधि बुझ्ने कोशिश गरे ।
अहिले उनी प्रोजेक्ट ब्लुप्रिन्ट भन्दै पूर्णकालीन जागिरे जस्तो गरी शरीरको निरीक्षण तथा उमेर घटाउने काम गरिरहेका छन् ।