
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ । पक्ष र विपक्ष दुवैतर्फका कानून व्यवसायीको बहस सकिएपछि अब फैसलाको पर्खाइ छ ।
यससँगै आजै फैसला सुनाउने वा फैसलाको मिति तोक्ने निर्णय (निसु) आउन सक्छ । सुनुवाइ सकिएपछि न्यायाधीशहरू परामर्शमा जुटेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।
यस मुद्दामा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा रहेको संवैधानिक इजलासमा बुधवारदेखि अन्तिम सुनुवाइ शुरू भएको थियो ।
अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेकाले सांसद बन्नका लागि अयोग्य हुने भन्दै रविराज बसौला, युवराज पौडेल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।