रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा विद्यार्थीहरूसँग बिहीवार तस्वीर खिचाएका छन् ।
तस्वीरमा उनले अग्लो हील भएको जुत्ता लगाएको देखिन्छ ।
पुटिन ५ फीट ७ इन्चका छन् र उनी रुसी विद्यार्थी दिवसका अवसरमा भोरोब्योभी गोरी नामक स्थानमा देखिएका हुन् ।
सन् १९९९ मा सत्तामा आएदेखि नै पुटिनले आफ्नो छविलाई संसारसामु कसरी प्रस्तुत गर्ने भन्ने विषयमा ध्यान दिने गरेका छन् ।
सन् २०१५ मा एक्सप्रेस पत्रिकाले रुस सरकारका एक भित्रियालाई उद्धृत गर्दै दिएको खबरअनुसार, आधिकारिक तस्वीरहरूमा राष्ट्रपतिभन्दा अग्लो कोही पनि देखिनुहुँदैन ।
स्रोतले पत्रिकालाई बताए, ‘त्यसैले गर्दा उनका अंगरक्षकहरू जहिले पनि उनीभन्दा होचा देखिन्छन् । पुटिन अग्ला मान्छे हुन् भन्ने आभास दिलाउन होचा अंगरक्षक राख्ने गरिएको छ ।’
दी इकोनोमिस्ट पत्रिकाले सन् २०२० मा लेख्यो, ‘राजनीतिमा अग्लाइ महत्त्वपूर्ण हुन्छ ।’
पत्रिकाले गरेको अनुसन्धानमा अग्ला राजनीतिकर्मीहरूले आफ्ना प्रतिस्पर्धीलाई चुनावमा हराउने गरेका छन् ।
अग्ला मानिसको आत्ममूल्यांकन उच्च रहन्छ र उनीहरू थप स्वस्थ, विद्वान् र आफ्नो कुरा राख्न सक्ने रूपमा लिइन्छ ।