
चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा यहाँ दुई दिने कार्यशाला शुरू भएको छ । शुक्रबार शुरु भएको कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताकोविषयबाट शुरू गरेको कार्यशालामा पत्रकार कृष्ण भट्टराईले पत्रकारिताः हिजो र आज, विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षाबारे प्रशिक्षण दिए ।
“अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्”, मुख्य अधिकृत भुसालले भने, “यस्ता कार्यशालाले स्वनियमन गर्न मद्दत गर्छ ।” निर्देशक सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताए । “कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ”, निर्देशक सायमीले भने ।
आज छायाङ्कार विष्णु कल्पितले दृश्य भाषा र लेखन, नरेश भट्टराईले प्रस्तोता, पूर्वअध्यक्षद्वय विदुर गिरी, शान्तिप्रियले सङ्घको महत्व र आवश्यकताबारे प्रशिक्षण दिने जनाइएको छ । पत्रकारिता गरिरहेका र शुरू गरेका दुवैलाई कार्यशालाले लाभ दिने सङ्घका अध्यक्ष दिनेश सिटौलाले बताए । रासस