
तनहुँको आँबुखैरेनी गाउँपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले घरदैलोमा नै पुगेर सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको हो ।
पहिलो चौमासिकमा घरदैलोमा पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले दोस्रो चौमासिकवापत कात्तिकदेखि पुससम्मको भत्ता पनि घरदैलोमा नै पुगेर वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झण्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो । चुमानले स्थानीय तह निर्वाचनका बेला आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा गाउँ–गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका थिए ।
टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।