दाङको घोराही उपमहानगरपालिका –१५ थारु गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट, अल्फाजम ट्याब्लेट ७२ पिस र नगद १ लाख २७ हजार ६ सय १० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीया शिवा खत्री र उनको छोरा २२ वर्षीय राजु केसी रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूको घरबाट सो लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको केराबारी गाउँपालिका –८ स्थित बाटोबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम र नगद १ लाख ८४ हजार ५ सय रूपैयाँसहित सोही गाउँपालिका –१० बस्ने ६० वर्षीय पदमकुमार खड्कालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
सोहीअनुसार कञ्चनपुरको बेदकोट नगरपालिका –१० दैजीबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–१० घर भएका महेश चुनरा र सोही नगरपालिका–११ बस्ने २५ वर्षीय शंकर कामी रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले लु.१४ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।