
शहीद दिवस–२०७९ को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले ज्ञात अज्ञात सबै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । आज शहीद दिवसको अवसरमा उनले सो श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
“जहानियाँ राणा शासनविरोधी आन्दोलन तथा त्यसपछिका ठूला राजनीतिक क्रान्ति र संघर्षमा आफ्नो जीवन आहुती दिनुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु” उनले सन्देशमा भनेका छन् ।
नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना गरेको उनले स्मरण गरेका छन् । वीर शहीदहरुको बलिदानीबाट प्राप्त उपलब्धीहरु सविधानमार्फत संस्थागत भएको चर्चा गर्दै उनले भनेका छन्, “प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरु प्राप्तीको मुख्य श्रेय शहीदहरुलाई जान्छ ।” दिवसको अवसरमा उनले शहीदहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै शहीद परिवारजनमा सम्मान व्यक्त गरेका छन् ।