
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा चयन गरेको छ । आइतबार बसेको बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता मुकुल ढकालले लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको बताए।
उनले भने, ‘पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन भएका छन्। परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयबारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ ।’
लामिछानेले सर्वोच्चको फैसलाअनुसार आइतबार नै जिल्ला प्रशासन कार्यालयबाट आफ्नो पुरानो नागरिकतालाई नै कायम गराएका थिए । यसअघि उनको नागरिकता अवैध ठहरिँदा पार्टीको सभापतिसहित सांसद र मन्त्री पद गएको थियो । यसैबीच लामिछानेले आफ्नो पासपोर्ट राहदानी विभागमा बुझाएको जनाइएका छ ।
००००
यसैबीच आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामिछानेले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । सो क्रममा गृह मन्त्रालयको विषयमा पनि छलफल भएको बुझिएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ । सभापति लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो ।
तर आइतबार सभापतिमा लामिछाने आफ्नो नागरिकता वैध बनाउँदै पुनः सभापतिमा चयन भएपछि माघ २१ गतेदेखि पुनः सुचारु गर्ने निर्णय गरिएको हो । जसअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ ।
प्रदेश नम्बर १, मधेश प्रदेश र वागमती प्रदेशमा हुने विस्तारित प्रदेश बैठकबारे छिट्टै निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
००००
राहदानी विभागले सेवा सहज बनाउन भन्दै पहल थालेको जनाएको छ । जसअनुसार विभागले माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन फाराम खोल्ने जनाएको छ ।
००००
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त भएका छन् । मुख्य मन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
००००
संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौँ आइपुगेकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको परिस्थिति लगायतका विषयमा छलफलका लागि ओली बालुवाटार पुगेको स्रोतले जानकारी दियो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन भएको छ। मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौँको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो।
००००
सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।
उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने स्पष्ट पारे ।
००००
नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरूले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।
००००
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो ।