
नेपाल उद्योग वाणिज्य महासंघले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ ।
महासंघको प्रतिनिधिमण्डलले सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, भारतले रोकेको गहुँको आयात खुलाउनुपर्ने र स्टार्टअप कार्यविधि स्वीकृत गर्नका लागि सरकार पहल गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।
अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘इन्धनको मूल्य समायोजन हुन नसक्दा वस्तुको उत्पादन लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको, उद्योगहरूमा अघोषित विद्युत् भार कटौतीका कारण उत्पादन प्रभावित बनेको र बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धी कानून यथाशीघ्र ल्याउनुुपर्ने माग महासंघले राखेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय आर्थिक रूपान्तरण नेट २०३० कार्यान्वयनका लागि गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको प्रभावकारिताबारे पनि महासंघले चासो राखेको छ । महासंघको पहलमा सरकारले तयार भएको स्टार्टअप कार्यविधिमाथि अन्तिम छलफल गरी पारित गर्न समेत उद्योगमन्त्रीसमक्ष महासंघले आग्रह गरेको छ ।
महासंघले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सीआईआई सहआयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरेको छ । उद्योगमन्त्री भण्डारीले स्टार्टअप कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने प्रतिबद्धता जनाएका छन् ।