
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलवारको बैठकमा रास्वपाका सविता गौतमले सदन समयमै उपस्थित हुने, ड्रेसकोड कायम गर्ने र राष्ट्रिय धुनको सट्टा राष्ट्रिय गान नै बजाऔं भन्ने विषय सहितका सुझाव प्रस्तुत गरिन् ।
सभामुख सदनमा प्रवेश गर्नसाथ राष्ट्रिय धुन बजाइने र त्यहाँ उपस्थित सबै उठेर राष्ट्रिय धुनप्रति सम्मान गर्ने प्रचलन रही आएको छ । उनले भनिन्, ‘पङचुवालिटी, सभालाई मर्यादित तुल्याउन ड्रेसकोट, राष्ट्रिय गानप्रति सम्मान व्यक्त गर्न त्यो बजाइँदा सबै सतर्क अवस्थामा रहनुपर्ने व्यवस्था होस् भन्ने हाम्रो दलको धारणा हो ।’
सदनमा सभामुखको भूमिका निर्णायक (रेफ्री) जस्तो हुन्छ भन्ने मान्यता भए पनि कहीले काही प्रतिपक्षलाई पेलेर जान्छन् भन्ने कुरा सुनिँदै आएको बताउँदै समिति सदस्य गौतमले सभामुख कुनै दल विशेषको पक्षधर भएको खण्डमा त्यसको उपचार वा सम्बोधन कहाँबाट खोज्ने भन्ने विषय पनि निमयमालीमा स्पष्ट हुनुपर्नेमा जोड दिइन् ।
दल विशेषको सभामुख बनाउने होडबाजीले त्यो अवस्था आउन सक्नेतर्फ समयमै सचेत भएर निमयमावली बनाउन ध्यान पुर्याउन आवश्यक रहेको उनले बताइन् ।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सभालाई मर्यादित र अनुशासित तुल्याउन सदन चलिरहेका समयमा मुख्य विषयमा ध्यान दिनुको साटो मोबाइल चलाउने, पत्रपत्रिका पढ्ने लगायत विषयमा अल्झने प्रवृत्ति अन्त्यका लागि नियमावली तर्जुमामै कडाइ गर्न व्यवस्था गर्न सुझाव दिए ।
नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले नियमावलीमा सदनमा सभामुखतिर पिठ्यू फर्काउन नहुने स्पष्ट लेखिए पनि नेता र सदस्यबीचका संवादमा यस्ता क्रियाकलाप पटक–पटक हुने गरेको बताए ।
उनले भने, ‘कुनै सदस्यले बैठकमा असंगत कुरा बोलेमा माथि चियरबाट हस्तक्षेप नहुने हो भने नहुनु पर्ने कुरा पनि भइरहन्छ, बैठकमा कार्यसूचीभन्दा बाहिर गएर असम्बन्धित विषय प्रवेश गराउने कार्य पटक भएको देखिन्छ, त्यसलाई अध्यक्षको चियर र नियमापत्तिको अभ्यासबाट सदस्यले हो ।’
ज्येष्ठ सदस्य चित्रबहादुर केसीको अध्यक्षतामा सञ्चालन भएको समितिको बैठकमा सदनमा विरोध गर्ने क्रममा वेल घेराउन कार्य नियम विपरीत भए पनि दलले अभ्यासकै रूपमा अघि बढाइरहेकाले त्यसलाई आगामी दिनमा दोहर्याउन दिन नहुने सुझाव दिइयो ।