२५ असार २०८३, बिहीबार

नेपाल चीनतर्फ ढल्किएको भन्दै भारतमा हल्लाखल्ला

नेपाल चीनतर्फ ढल्किएको भन्दै भारतमा हल्लाखल्ला

काठमाडौं, ५ भदौ — चीनका उपप्रधानमन्त्री वाङ याङले हालै नेपालको भ्रमण गरे । यो विगत केही वर्षमा चीन र नेपालबीचको सबभन्दा महत्त्वपूर्ण उच्चस्तरीय अन्तक्रिया हो ।

भारतकी विदेशमन्त्री सुष्मा स्वराजले काठमाडौं भ्रमण गरेको केही दिनमै उपप्रधानमन्त्री वाङले गरेको भ्रमणलाई धेरै भारतीयहरूले नेपालमा प्रभाव जमाउन भारत र चीनबीचको प्रतिस्पर्धाका रूपमा हेरेका छन् । उनीहरू नेपाल अहिले चीनसँग नजिकिएको ठान्छन् ।

परम्परागत रूपमा नेपालले चीन र भारतबीच समान कूटनीतिक सम्बन्ध कायम गरेको छ । तर नेपालले सन् २०१५ मा आफ्नै संविधान जारी गरेपछि भारतले नेपालमाथि अघोषित नाकबन्दी लगाएको थियो जसका कारण नेपालले चर्को ऊर्जा संकट बेहोर्नुपरेको थियो । त्यसपछि नेपालले बाध्य भएर चीनसँग सहयोग माग्नुपरेको थियो ।

धेरै नेपालीहरूलाई भारत–नेपाल मार्गको विकल्पका रूपमा चीन–नेपालको व्यापारिक मार्ग पेटी सडक परियोजनाअन्तर्गत स्थापना भएमा कूटनीतिक स्वतन्त्रता पाइन्थ्यो भन्ने लाग्छ । यो पृष्ठभूमिमा नेपालको अनुरोधमा चीनले नेपाललाई सहयोगको मात्रा बढाएको छ ।


सन् २०१६ मा नेपाललाई सबभन्दा बढी सहयोग गर्ने देशमा चीनले भारतलाई उछिनिसकेको छ । सतहमा हेर्दा नेपाल चीनसँग नजिकिएको छ तर राजनीति, सुरक्षा वा अर्थतन्त्रमा नेपाललाई चीन र भारत दुवै छिमेकी उत्तिकै आवश्यक छन् ।

नेपाल चीनतर्फ गएर भारतबाट टाढिएला भनी भारत त्रसित छ । शारीरिक बनावट र धर्मका आधारमा नेपालीहरू चिनियाँभन्दा भारतीयसँग नजिक छन् । नेपालको प्रमुख धर्म हिन्दू भएकाले नेपालीहरूको भारतीयहरूसँग स्वाभाविक रूपमा धार्मिक सम्बन्ध छ । नेपालमा धेरै भारतीयहरू पनि छन् जसका कारण नेपाल स्वाभाविक रूपमा भारतनिकट छ ।

तर यी अनुकूल परिस्थितिका बावजूद भारतले राजनीतिक सुरक्षालाई प्राथमिकता दिँदै नेपाललाई नियन्त्रणमा राख्ने कामलाई आधारभूत लक्ष्य बनाएको छ र उसले चीन तथा नेपालबीचको सम्पर्कलाई भारतीय नियन्त्रणको क्षयीकरणका रूपमा लिन्छ ।

वास्तवमा नेपालको लक्ष्य भारतविरुद्ध जाने नभई आफ्नो आर्थिक विकासमा रहेका चुनौतीलाई समाधान गर्ने हो । नेपाल उत्तरतर्फ हिमालयबाट अनि दक्षिणतर्फ भारतबाट घेरिएको छ । यो भौगोलिक अवस्थाले नेपालको अर्थतन्त्रलाई भारतसँगको सम्बन्धप्रति निर्भर बनाएको मात्र नभई यसले ढुवानी खर्च चर्को पारेको छ । यसकारण नेपाललाई चीनसँगको भौगोलिक सम्पर्कबाट प्राप्त आर्थिक लाभ उठाउन मुश्किल परेको छ । नेपाल र अन्तर्राष्ट्रिय आर्थिक यन्त्र (पेटी सडक परियोजना) सिधै जोडिँदैनन् ।

यी समस्याहरू समाधान गर्नका लागि नेपालले चीनसँग सिधा सडक सम्पर्क बनाउने आशा गरेको छ जसले गर्दा नेपाललाई चीनको आर्थिक विकाससँग जोडिन सजिलो होस् ।

चीनले प्रस्ताव गरेको पेटी सडक परियोजनाप्रति नेपाल एकदमै सकारात्मक छ र उसले आफ्नै अवधारणा पनि प्रस्तुत गरेको छ । नेपाली विद्वानहरूले हिमालयपारि रेलवेमार्फत नेपाल, भारत र चीनलाई जोड्नका लागि चीनले नेतृत्व लिनुपर्ने भनी लगातार सुझाव दिइरहेका छन् । यो अवधारणालाई भारत र चीनले स्वीकार गर्ने हो भने नेपाल कसैले वास्ता नगरेको भूगोलबाट चीन र भारतबीचको सम्पर्क केन्द्रमा परिवर्तन हुनेछ ।

नेपाल एकैचोटि भारत र चीनसँग जोडिन चाहन्छ । चीनलाई यो थाहा छ र ऊ नेपालमा भारतको प्रभावलाई हटाउन चाहँदैन अनि नेपालमा भारतको उपस्थितिलाई पनि अस्वीकार गर्दैन ।

चीनको आधारभूत तर्क भनेको अर्थतन्त्रलाई प्राथमिकता दिने हो यद्यपि उसले यससँग जोडिन सक्ने राजनीतिक र सुरक्षा स्वार्थलाई अस्वीकार गर्दैन । यही तर्कले चीनलाई नेपालनीति बनाउन थप सजिलो बनाएको छ अनि नेपाललाई स्वीकार्य हुने नीति नै उसले बनाउने हो ।

नेपालका लागि भारत र चीनबीचको प्रतिस्पर्धा वास्तवमा भारतको राजनीतिक सुरक्षा स्वार्थ अनि चीनको आर्थिक साझेदारी स्वार्थमा अडिएको छ । एक हदसम्म यो साम्राज्यवाद र शीतयुद्धको विरासतले जन्माएको जटिलता अनि सम्पर्कमा आधारित नयाँ विश्वव्यापी ऊर्जाबीचको प्रतिस्पर्धा हो ।

चीन–भारत प्रतिस्पर्धाले यी दुई देशको शक्ति सन्तुलन मात्र प्रतिबिम्बित गर्ने नभई २१औं शताब्दीको विकास प्रवृत्ति पनि देखाउँछ ।

भावानुवाद: विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्