३० जेठ २०८३, शनिबार

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाणपुर्जा

लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाणपुर्जा

सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित ४१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । जुगल गाउँपालिका –२, लिदीमा पहिरोबाट विस्थापितलाई साढे दुई वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् ।

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडित परिवारलाई मङ्गलबार पुर्जा वितरण गरे । विसं २०७७ साउन ३० गते जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट पहिरो जाँदा दुई सय नौ परिवार विस्थापित भएका थिए । तीमध्ये ४१ परिवारलाई चौतारा साँगाचोकगढी नगरपालिका –४ देउरालीमा सुरक्षित जग्गा व्यवस्थापन गर्दै जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । 

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोका अनुसार नयाँ बस्ती विकास गर्ने गरी जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको छ । आगामी दिनमा बाढी प्रभावित र विस्थापितका लागि आयआर्जन, स्वरोजगार बन्न थप कार्यक्रम ल्याइने उनको भनाइ छ । पीडित ६४ परिवारलाई सेलाङको बाँसखर्क, २७ परिवारलाई बराम्चीको चनौटे तथा ७५ परिवारलाई लिदीको सिमलडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । विस्थापितलाई आवास निर्माणका लागि सरकारले प्रतिपरिवार रु पाँच लाख उपलब्ध गराएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्