
३० वर्षदेखि बन्द रहेको वीरगञ्जस्थित वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न महावीर पुनः लागिपरेका छन्।
पुनले त्यहाँ रहेका मेसिनहरू मर्मत गरिएको र त्यसपछि ती मेसिनहरूले काम गरेको भिडियोसहित सामाजिक सञ्जालमा राखेका छन्।
उनले लेखेका छन्– ३० वर्षसम्म बल्दै नबलेको तेलबाट चल्ने फलाम तताउने भट्टीहरू बल्यो र फलामलाई रातो हुने गरी ततायो । अनि तातो फलामलाई पिट्ने पावर ह्यामर पनि चल्यो र त्यसले फलामको रड लाई ठोक्यो।’
पुनले कारखानामा रहेका मेसिनहरूले राम्रोसँग काम गरेका भन्दै प्रगति हुँदै गरेको बताएका छन्।
सरकारले गएको कात्तिकमा कारखाना सञ्चालनको प्रक्रिया शुरु गरेको थियो।
अर्थ मन्त्रालयका सहसचिव नवराज ढुंगाना अध्यक्ष रहेको कारखाना सञ्चालक समितिको ६ कात्तिकमा वीरगञ्जमा बसेको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको थियो।
एक वर्षभित्र सरकारले कारखानाबाट कृषि सामग्री उत्पादन गर्ने गरी तयारी थाले पनि पुनले त्यसअगावै कारखाना मर्मत सम्भार गरी चलाउन थालेका हुन्।
आफूले तीव्र गतिमा कारखानामा काम भएको भन्दै त्यहाँ काम गर्ने कर्मचारीको बासस्थान र खाना खर्च जुटाउन सहयोग पनि मागेका छन्।