
नेपाली फिल्म ‘बुलाकी’ आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
यसअघि फागुन १९ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको फिल्म डेढ महिना पछि प्रदर्शनमा आउने भएको हो ।
‘बुलाकी’ले बैशाख १ गतेलाई प्रदर्शन मिति तोक्नुलाई फिल्म वृत्तमा चासोका रुपमा हेरिएको छ । किनकी उक्त मितिमा यसअघि नै ५ फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
‘भगवत् गीता’, ‘नाइँ नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ले यसअघि नै नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गरिसकेका हुन् ।
लक्ष्मण सुनारको निर्देशन रहेको ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा छन् । स्वं. मोति विष्ट प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् ।
कर्णालीको डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा यस फिल्मको छायाङ्कन गरिएको छ ।
मौलिक कथामा फिल्म निर्माण भएको निर्माण टिमले जनाएको छ । आगामी शुक्रवार यस फिल्मको टिजर सार्वजनिक गर्ने तयारी छ ।